काठमाडौं — स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच स्वदेशी औषधि उत्पादनलाई विस्तार तथा सुदृढ गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। समझदारीअनुसार आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडबाट ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने लक्ष्य तय गरिएको छ।
सोमबार भएको सम्झौताअनुसार हाल उत्पादन भइरहेका ११ प्रकारका अत्यावश्यक औषधिसँगै उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोगका औषधि पनि स्वदेशमै उत्पादन गरिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार नयाँ औषधि उत्पादनका लागि आवश्यक अनुसन्धान तथा विकास (आर एन्ड डी), गुणस्तर परीक्षण, उत्पादन अनुमति तथा प्राविधिक तयारीका कामलाई तीव्रता दिइनेछ।
समझदारीअनुसार कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गरिनेछ भने सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिइने व्यवस्था गरिएको छ।
यस्तै, सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधि खरिद स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच संस्थागत तथा नियमित प्रणालीमार्फत गर्ने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ। यसबाट सरकारी खरिद प्रक्रिया थप व्यवस्थित र प्रभावकारी बन्नुका साथै नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार नेपाल औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुनिश्चित गरिनेछ।
सरकारले यस पहलबाट स्वदेशी औषधि उद्योगको प्रवर्द्धन, औषधिमा आत्मनिर्भरता अभिवृद्धि, आयातमा निर्भरता न्यूनीकरण तथा नागरिकलाई गुणस्तरीय र सुलभ अत्यावश्यक औषधिको नियमित उपलब्धता सुनिश्चित गर्ने दीर्घकालीन लक्ष्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरेको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने