गोरखा — जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाको राजश्व संकलन गत आर्थिक वर्षमा उल्लेख्य रूपमा घटेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८२/०८३ मा ट्राफिक राजश्व ४८.७९ प्रतिशतले घटेको हो। तर, सोही अवधिमा जिल्लामा हुने सवारी दुर्घटनाको संख्या भने बढेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा ५५ लाख १५ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयले १ करोड ७ लाख ७१ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो।
गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने ६ हजार ३११ वटा सवारी साधनलाई कारबाही गरिएको थियो। अघिल्लो आर्थिक वर्षमा भने ११ हजार ४३ वटा सवारी साधन कारबाहीमा परेका थिए। यस आधारमा सवारी कारबाहीको दर पनि ४२.८ प्रतिशतले घटेको कार्यालयको तथ्याङ्कले देखाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुरज अर्यालले ट्राफिक कारबाही र राजश्व घट्नु सकारात्मक पक्ष भएको बताए। नागरिकहरूमा ट्राफिक नियम पालनासम्बन्धी चेतना बढेकाले कारबाहीको संख्या घटेको उनको भनाइ छ।
‘ट्राफिक राजश्व घट्नु सकारात्मक पक्ष हो। यसले नागरिकमा ट्राफिक सचेतना बढेको देखाउँछ,’ अर्यालले भने। उनले ट्राफिक नियम पालनाका लागि कार्यालयले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।
कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/०८१ मा ८५ लाख ७१ हजार रुपैयाँ राजश्व संकलन भएको थियो। सो अवधिमा १० हजार ४७७ वटा सवारी साधन कारबाहीमा परेका थिए। त्यस्तै, आर्थिक वर्ष २०७९/०८० मा ७६ लाख ३० हजार रुपैयाँ राजश्व संकलन भएको थियो भने १० हजार ३०० वटा सवारी साधन कारबाहीमा परेका थिए।
मोटरसाइकल र स्कुटर चालक बढी कारबाहीमा
गत आर्थिक वर्षमा सबैभन्दा धेरै मोटरसाइकल तथा स्कुटर चालक ट्राफिक कारबाहीमा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार २ हजार ३७० वटा मोटरसाइकल तथा स्कुटर चालकलाई कारबाही गरिएको छ। उनीहरूबाट मात्रै १९ लाख ६५ हजार रुपैयाँ राजश्व संकलन भएको छ।
मोटरसाइकलपछि कार तथा जीप धेरै कारबाहीमा परेका छन्। १ हजार ३०४ वटा कार तथा जीप कारबाहीबाट ११ लाख ४३ हजार ५०० रुपैयाँ राजश्व उठेको छ।
यस्तै, १ हजार २०४ वटा ट्रक तथा टिपर कारबाहीबाट ११ लाख ६२ हजार ५०० रुपैयाँ, ८८३ वटा बसबाट ८ लाख १० हजार रुपैयाँ, ४५५ वटा ट्याक्टरबाट ३ लाख ६९ हजार रुपैयाँ तथा टेम्पो र अन्य ९५ वटा सवारी साधनबाट ६५ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ।
दुर्घटनाको संख्या बढ्यो
ट्राफिक कारबाही र राजश्व संकलन घटे पनि जिल्लामा सवारी दुर्घटनाको अवस्था भने चिन्ताजनक देखिएको छ। आर्थिक वर्ष २०८२/०८३ मा गोरखामा २४ वटा सवारी दुर्घटना भएका छन्।
ती दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका छन् भने २३ जना गम्भीर घाइते भएका छन्।
अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाभर १४ वटा सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा एक जनाको मृत्यु भएको थियो।
त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा २० वटा र आर्थिक वर्ष २०७९/०८० मा २२ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ। आर्थिक वर्ष २०८०/०८१ मा दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०७९/०८० मा १९ जनाले ज्यान गुमाएका थिए।
ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको जनाएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
मनसुनजन्य विपद्को जोखिम बढेपछि मर्स्याङ्दी गाउँपालिकाद्वारा उच्च सतर्कता अपनाउन अपिल
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
राति ११ बजेपछि व्यवसाय बन्द गर्ने निर्णय फिर्ता लिन रात्रिकालीन व्यवसायीको माग