logo

मंगलबार, साउन ५ २०८३

kantipurpationlinetv

२०८३ साउन ५ मंगलबार

मनास्लु क्षेत्रमा एक वर्षमै १६ हजार ६७१ पर्यटक, आगमन ४१.१ प्रतिशतले बढ्यो

मनास्लु क्षेत्रमा एक वर्षमै १६ हजार ६७१ पर्यटक, आगमन ४१.१ प्रतिशतले बढ्यो


  • मंगलबार, साउन ५ २०८३
  • 0.8K
    SHARES

    गोरखा — मनास्लु संरक्षण क्षेत्रमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष २०८२/०८३ मा मनास्लु संरक्षण क्षेत्रमा स्वदेशी तथा विदेशी गरी १६ हजार ६७१ जना पर्यटकले भ्रमण गरेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४१.१ प्रतिशतले बढी हो।

    मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार गत आर्थिक वर्ष आएका कुल पर्यटकमध्ये १५ हजार २५३ जना विदेशी, ६३४ जना सार्क राष्ट्रका नागरिक र ७८४ जना नेपाली रहेका छन्।

    महिनागत विवरणअनुसार कात्तिक महिनामा सबैभन्दा धेरै ४ हजार २६५ जना पर्यटक मनास्लु पुगेका छन्। त्यसपछि असोजमा ३ हजार ४५५, चैतमा ३ हजार २४० र वैशाखमा २ हजार ४६२ जना पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका छन्।

    विदेशी पर्यटकमध्ये ८ हजार ४१६ जना पुरुष र ६ हजार ८३३ जना महिला रहेका छन्। नेपाली पर्यटकमध्ये ६८० जना पुरुष र १०४ जना महिला रहेको आयोजनाको तथ्याङ्कमा उल्लेख छ।

    मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले पर्यटक आगमनमा भएको वृद्धिलाई चुमनुब्री गाउँपालिका, स्थानीय समुदाय, पर्यटन व्यवसायी, संरक्षणकर्मी तथा अन्य सरोकारवालाबीचको समन्वय र सहकार्यको सकारात्मक परिणामका रूपमा लिएको छ।

    विश्वप्रसिद्ध मनास्लु सर्किट ट्रेक, हिमशृङ्खलाको मनोरम दृश्य, जैविक विविधता तथा हिमाली समुदायको मौलिक संस्कृति मनास्लु क्षेत्रको प्रमुख आकर्षणका रूपमा रहेका छन्। पछिल्ला वर्षहरूमा पूर्वाधार सुधार, पर्यटन प्रवर्द्धन र स्थानीय तहको सक्रियतासँगै यस क्षेत्रमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको देखिएको छ।

    आयोजनाले प्रकृति संरक्षण र दिगो पर्यटन विकासलाई सँगसँगै अघि बढाउँदै स्थानीय समुदायको सहभागितामार्फत संरक्षण र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेको जनाएको छ। सरोकारवालाहरूको सहकार्यले आगामी वर्षहरूमा पनि मनास्लु क्षेत्रमा पर्यटक आगमन थप बढ्ने अपेक्षा गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page