logo

बुधबार, साउन ६ २०८३

kantipurpationlinetv

२०८३ साउन ६ बुधबार

चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी

चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी


  • बुधबार, साउन ६ २०८३
  • 4.6K
    SHARES

    भक्तपुर — चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिक, प्रयोगशाला (ल्याब) तथा फार्मेसीहरूको संयुक्त अनुगमन गर्दै नियमविपरीत सञ्चालन भइरहेका संस्थालाई आवश्यक सुधार गर्न निर्देशन दिएको छ।

    नगरपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय भक्तपुर, उद्योग वाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्च, नेपाल प्रहरी तथा नगर प्रहरीको संयुक्त टोलीले आइतबार स्वास्थ्य संस्थाहरूको स्थलगत अनुगमन गरेको हो।

    अनुगमनका क्रममा सर्वोदय हेल्थ क्लिनिक प्रालि, रामेछाप फार्मेसी, सञ्जीवनी फार्मेसी, सर्वोदय फार्मेसी, सम्स्तुभ फार्मेसी तथा ग्रेस मेडिकेयर प्रालि लगायतका स्वास्थ्य संस्थाको निरीक्षण गरिएको थियो।

    संयुक्त टोलीका अनुसार केही स्वास्थ्य संस्थाले व्यवसाय दर्ता तथा नवीकरण नगरी वा म्याद सकिएपछि पनि सेवा सञ्चालन गरिरहेको पाइएको छ। त्यस्ता संस्थालाई सात दिनभित्र स्थानीय तह तथा सम्बन्धित निकायमा दर्ता वा नवीकरण प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ।

    अनुगमनका क्रममा सर्वोदय हेल्थ क्लिनिक ले नगरपालिकासहित सम्बन्धित निकायबाट आवश्यक अनुमति नलिई केही सेवा सञ्चालन गरेको भेटिएपछि त्यस्ता सेवा तत्काल बन्द गर्न निर्देशन दिइएको नगरपालिकाले जनाएको छ।

    त्यसैगरी केही फार्मेसीमा म्याद नाघेका औषधि फेला परेकाले त्यस्ता औषधिलाई प्रचलित कानुनबमोजिम सुरक्षित रूपमा व्यवस्थापन गर्न निर्देशन दिइएको छ। आयुर्वेदिक औषधिको अनधिकृत बिक्री–वितरण नगर्न पनि सम्बन्धित व्यवसायीलाई सचेत गराइएको छ।

    संयुक्त अनुगमन टोलीले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने सेवामा कुनै पनि प्रकारको लापरबाही स्वीकार्य नहुने स्पष्ट पार्दै अनुगमनका क्रममा दिइएका निर्देशनको पालना नगरे प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।

    चाँगुनारायण नगरपालिकाले गुणस्तरीय र सुरक्षित स्वास्थ्य सेवा सुनिश्चित गर्न यस्ता अनुगमनलाई आगामी दिनमा समेत निरन्तरता दिइने जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page