logo

शुक्रबार, साउन ८ २०८३

kantipurpationlinetv

२०८३ साउन ८ शुक्रबार

गोरखामा वन कार्यालयको राजस्व १५ प्रतिशतले बढ्यो, दुई करोड २८ लाख संकलन

गोरखामा वन कार्यालयको राजस्व १५ प्रतिशतले बढ्यो, दुई करोड २८ लाख संकलन


  • शुक्रबार, साउन ८ २०८३
  • 0.8K
    SHARES

    गोरखा । डिभिजन वन कार्यालय गोरखाले आर्थिक वर्ष २०८२/०८३ मा दुई करोड २८ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १५ प्रतिशतले राजस्व वृद्धि भएको कार्यालयले जनाएको छ।

    कार्यालयका अनुसार संकलित रकममा वार्षिक राजस्व र मूल्य अभिवृद्धि कर (भ्याट) दुवै समावेश छन्। सबैभन्दा बढी निजी वनसँग सम्बन्धित मूल्य अभिवृद्धि करबाट एक करोड ११ लाख ३९ हजार रुपैयाँ राजस्व उठेको छ।

    वन क्षेत्रको रोयल्टीअन्तर्गत जडीबुटी संकलन, बेवारिसे तथा जोखिमयुक्त रुख व्यवस्थापन, आयोजना र मुद्दाबाट लिलाममार्फत २३ लाख ५९ हजार रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ। यस्तै निजी तथा सामुदायिक वनको प्रदेश सेवा शुल्क र जलविद्युत् आयोजनाबाट ८९ लाख ५५ हजार रुपैयाँ तथा राष्ट्रिय वनको काठ–दाउरा बिक्रीबाट तीन लाख ९७ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख मदनमोहन शाण्डिल्यले जानकारी दिए।

    उनका अनुसार गत आर्थिक वर्षमा कार्यालयले ७९.४२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। प्रदेश सरकारबाट पाँच करोड २४ लाख ४४ हजार रुपैयाँ र संघीय सरकारबाट ८२ लाख २८ हजार रुपैयाँ गरी कुल छ करोड ६ लाख ७२ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा चार करोड ८१ लाख ८६ हजार रुपैयाँ खर्च भएको उनले बताए।

    प्रदेश सरकारतर्फ कार्यक्रम (पुँजीगत) खर्चमा ७६.५५ प्रतिशत र प्रशासनिक (चालु) खर्चमा ८० प्रतिशत वित्तीय प्रगति भएको छ। संघीय सरकारतर्फ भने प्रशासनिक र पुँजीगत दुवै शीर्षकमा समग्र वित्तीय प्रगति ९७.६७ प्रतिशत पुगेको कार्यालयले जनाएको छ।

    डिभिजन वन कार्यालयका अनुसार पछिल्ला वर्षमा राजस्व संकलन निरन्तर बढ्दो क्रममा छ। आर्थिक वर्ष २०८१/०८२ मा एक करोड ९८ लाख ५१ हजार रुपैयाँ र २०८०/०८१ मा एक करोड ३७ लाख २८ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।

    कार्यालय प्रमुख शाण्डिल्यले राजस्व वृद्धिमा जलविद्युत् आयोजनाको योगदान उल्लेखनीय रहेको बताए। उनका अनुसार गत आर्थिक वर्षमा जलविद्युत् आयोजनाबाट मात्रै करिब ७५ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

    ‘विशेषगरी धार्चे गाउँपालिकामा सञ्चालित जलविद्युत् आयोजनाबाट उल्लेख्य राजस्व प्राप्त भएको हो,’ उनले भने, ‘अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष काठ–दाउरा बिक्री पनि बढेकाले राजस्व संकलनमा सकारात्मक प्रभाव परेको छ।’


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page