काठमाडौं, २१ साउन । भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई २१ दिनभित्र अनलाइनमार्फत इजाजतपत्रका लागि आवेदन दिन आग्रह गरेको छ।
विभागले बुधबार सार्वजनिक सूचना जारी गर्दै नेपाल सरकारको राजपत्रमा प्रकाशित व्यवस्थाअनुसार एक पटकमा तीन करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य गरिएको जनाएको हो।
सूचनाअनुसार इच्छुक फर्म, कम्पनी तथा संस्थाले विभागको अनलाइन प्रणालीमार्फत आवेदन दिनुपर्नेछ। अनलाइन आवेदनसँगै पेश गरिएका कागजातको एक–एक प्रति प्रिन्ट गरी विभागमा समेत बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
विभागका अनुसार एक पटकमा पाँच करोड रुपैयाँसम्मको घरजग्गा कारोबारका लागि पाँच लाख रुपैयाँ र पाँच करोड रुपैयाँभन्दा बढी कारोबारका लागि १० लाख रुपैयाँ इजाजत दस्तुर तोकिएको छ।
यसअघि विभागको सूचनाबमोजिम अनलाइन आवेदन दिए पनि २०८३ असार मसान्तसम्म इजाजतपत्र नलिएका फर्म, कम्पनी तथा संस्थाले नयाँ सूचनाअनुसार पुनः आवेदन दिनुपर्ने विभागले स्पष्ट पारेको छ।
विभागले आवेदन दर्तापछि सम्बन्धित कम्पनी वा संस्थाका सञ्चालक सदस्यहरूले नेपाल प्रहरीको केन्द्रीय अपराध सूचना अभिलेखालयबाट आपराधिक गतिविधिमा संलग्न नरहेको व्यहोराको पत्रसमेत पेश गर्नुपर्ने जनाएको छ।
इजाजतपत्र सम्बन्धी थप जानकारी आवश्यक परे विभागमा सम्पर्क गर्न पनि विभागले आग्रह गरेको छ।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
नेपालमूलकी मेनुका गौतम ‘कियारा’लाई थाइल्यान्डमा सम्मान, अब मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा
-
माया गुरुङ सांगीतिक साँझका लागि राजशान्ति फाउन्डेसनको डेढ लाख सहयोग
-
कथावाचनमार्फत शिक्षण प्रभावकारी बनाउन मर्स्याङ्दीमा शिक्षकका लागि दुईदिने कार्यशाला
-
दोस्रो राष्ट्रिय कोदो दिवस २०८३ भव्य रूपमा सम्पन्न