logo

बिहिबार, साउन २१ २०८३

kantipurpationlinetv

२०८३ साउन २१ बिहिबार

ग्यास अभाव तत्काल हटाउन आयल निगमका कार्यकारी निर्देशकलाई मन्त्री यादवको निर्देशन

ग्यास अभाव तत्काल हटाउन आयल निगमका कार्यकारी निर्देशकलाई मन्त्री यादवको निर्देशन


  • बिहिबार, साउन २१ २०८३
  • 63
    SHARES

    काठमाडौं, २१ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक नागेन्द्र साहलाई देशभर देखिएको एलपी ग्यास अभाव तत्काल समाधान गर्न निर्देशन दिएकी छन्।

    बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार सम्हालेका शाहसँग मन्त्रालयमा भएको भेटमा मन्त्री यादवले उपभोक्ताले ग्यास अभावका कारण सास्ती भोग्न नपर्ने गरी आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक सबै कदम चाल्न निर्देशन दिएकी हुन्।

    उनले एलपी ग्यासको आपूर्ति प्रणालीलाई नियमित, सहज र भरपर्दो बनाउन नेपाल आयल निगमले उच्च प्राथमिकताका साथ काम गर्नुपर्ने बताइन्।

    भेटका क्रममा मन्त्री यादवले दैलेखमा रहेको प्राकृतिक ग्यासको स्रोतको उत्खननलाई तीव्रता दिँदै व्यावसायिक उत्पादन र बजारीकरणको प्रक्रिया अघि बढाउन पनि निर्देशन दिइन्। स्वदेशी ऊर्जा स्रोतको अधिकतम उपयोग गर्दै ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने सरकारको लक्ष्य पूरा गर्न दैलेखको प्राकृतिक ग्यास परियोजनालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।

    त्यस्तै, उनले आयल निगमभित्र सुशासन सुदृढ गर्न, संस्थागत पारदर्शिता र उत्तरदायित्व बढाउन तथा निगमप्रति जनविश्वास अभिवृद्धि हुने गरी परिणाममुखी कार्यसम्पादन गर्न पनि नवनियुक्त कार्यकारी निर्देशक शाहलाई निर्देशन दिइन्।

    शपथ ग्रहणसँगै कार्यभार सम्हालेका कार्यकारी निर्देशक शाहले मन्त्रालयबाट प्राप्त निर्देशनलाई प्राथमिकताका साथ कार्यान्वयन गर्दै ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउने, संस्थागत सुशासन सुदृढ गर्ने र उपभोक्ताको विश्वास कायम राख्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page