काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले सिठी फुकेर मात्रै ट्राफिक व्यवस्थापन र सडक दुर्घटना न्यूनीकरण सम्भव नहुने बताएका छन्।
आइतबार आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै उनले सडक दुर्घटना न्यूनीकरणका लागि प्रविधिमैत्री ‘फेसलेस ट्राफिक’ प्रणालीमा जानुपर्ने आवश्यकता औंल्याए।
उनले सडक अनुशासन उल्लङ्घनका कारण निर्दोष नागरिकले ज्यान गुमाउने अवस्था रोक्न प्रविधिको प्रयोगसँगै सडक पूर्वाधारको विकास र प्रभावकारी ट्राफिक शिक्षा आवश्यक रहेको बताए।
एसएसपी काफ्लेका अनुसार मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने र तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति सडक दुर्घटनाका प्रमुख कारण हुन्। नियम पालना नगर्ने चालकका कारण सडक नियम पालना गरिरहेका अन्य सडक प्रयोगकर्ता पनि जोखिममा पर्ने गरेको उनले बताए।
‘सडक प्रयोगकर्ताले सडक अनुशासन पालना नगर्दिँदा निर्दोष व्यक्तिको ज्यान गइरहेको छ,’ उनले भने, ‘मादक पदार्थ तथा लागुऔषध सेवन गरेर सडकमा आउने र तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिका कारण नियम पालना गरिरहेका अन्य सडक प्रयोगकर्ताको जीवनसमेत जोखिममा पर्ने गरेको छ। यो अवस्था न्यूनीकरण गर्न ट्राफिकले सिठी फुकेर मात्र सम्भव हुँदैन, हामी फेसलेस ट्राफिकको अवधारणामा जानुपर्छ।’
उनले सडक सुरक्षाका ‘थ्री ई’ अर्थात् इन्जिनियरिङ, एजुकेसन र इन्फोर्समेन्ट तीनै पक्षलाई प्रभावकारी बनाउनुपर्ने बताए। सडकको डिजाइन तथा पूर्वाधार सुधारसँगै विद्यालय तहदेखि नै ट्राफिक शिक्षालाई पाठ्यक्रममा समेट्नुपर्ने उनको भनाइ छ।
नेपालका विद्यालय तथा विश्वविद्यालयमा हालसम्म ट्राफिक नियमसम्बन्धी शिक्षा औपचारिक रूपमा पढाइ नहुने गरेको उनले बताए। यद्यपि ट्राफिक प्रहरीले पछिल्लो समय विद्यालय, कलेज तथा विश्वविद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी उनले दिए।
उनका अनुसार ट्राफिक प्रहरीले सामाजिक सञ्जालमार्फत हरेक साता करिब २० देखि ३० लाख मानिससम्म ट्राफिक सचेतनामूलक सामग्री पुर्याउने गरेको छ। प्रत्यक्ष रूपमा मासिक तीनदेखि चार लाख मानिसलाई सचेतना कार्यक्रममार्फत जोड्ने प्रयाससमेत भइरहेको उनले बताए।
ट्राफिक नियम उल्लङ्घनपछि सञ्चालन हुने सचेतना कक्षाले पनि सकारात्मक परिणाम दिएको उनको दाबी छ। यस्ता कक्षामा सहभागी अधिकांशले चालक अनुमतिपत्र लिने समयमै ट्राफिक नियमसम्बन्धी शिक्षा पाएको भए अझ प्रभावकारी हुने उनले बताए।
एसएसपी काफ्लेले ट्राफिक प्रहरीको पहिलो प्राथमिकता जरिवाना असुल्नु नभई सडक दुर्घटना न्यूनीकरण गर्नु रहेको स्पष्ट पारे। उनले कानुन कार्यान्वयनका क्रममा नागरिकसँग नम्र भाषा प्रयोग गर्न, सम्मानजनक व्यवहार गर्न तथा कारबाही प्रक्रियालाई पारदर्शी बनाउन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन्।
ट्राफिक प्रहरीमाथि आउने आलोचनाको प्रमुख कारण कामभन्दा पनि काम गर्ने शैली र व्यवहार भएको उल्लेख गर्दै उनले प्रहरीको व्यवहारमा सुधार आवश्यक रहेको बताए।
उनका अनुसार सडक दुर्घटनामा केही कमी आए पनि नेपालको अवस्था अझै सन्तोषजनक छैन। नेपालमा दैनिक औसत आठ जनाको सडक दुर्घटनामा मृत्यु हुने र करिब ७५ जना गम्भीर घाइते हुने अवस्था रहेको उनले बताए।
गत वर्षको तुलनामा सडक दुर्घटनामा करिब २० प्रतिशत कमी आएको भए पनि त्यसलाई पर्याप्त उपलब्धि मान्न नसकिने उनको भनाइ छ। आगामी वर्ष सडक दुर्घटना अझ न्यूनीकरण गर्ने लक्ष्यसहित ट्राफिक प्रहरीले काम गर्नुपर्नेमा उनले जोड दिए।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
नेपालमूलकी मेनुका गौतम ‘कियारा’लाई थाइल्यान्डमा सम्मान, अब मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा
-
कथावाचनमार्फत शिक्षण प्रभावकारी बनाउन मर्स्याङ्दीमा शिक्षकका लागि दुईदिने कार्यशाला
-
माया गुरुङ सांगीतिक साँझका लागि राजशान्ति फाउन्डेसनको डेढ लाख सहयोग
-
कक्षा १२ सम्मका विद्यार्थीलाई हिमालयन कम्युनिटी प्रोजेक्टको नि:शुल्क हाइकिङ