काठमाडौं । सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा आएको छ । बिक्री कक्ष आजदेखि उपभोक्ताका लागि खुला गरिएको हो ।
सिंहदरबारस्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको स्थानमा सञ्चालनमा ल्याइएको बिक्री कक्षबाट उपभोक्ताले दैनिक उपभोग्य खाद्य सामग्री सुलभ मूल्यमा खरिद गर्न सक्नेछन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वार्षिकोत्सवको अवसरमा सञ्चालनमा ल्याइएको बिक्री कक्षमा करिब १२४ प्रकारका खाद्य तथा दैनिक उपभोग्य सामग्री बिक्रीका लागि राखिएको छ ।
बजारमा खाद्यवस्तुको मूल्यमा हुने अस्वाभाविक वृद्धि नियन्त्रण गर्दै उपभोक्तालाई सहज र तुलनात्मक रूपमा सुलभ मूल्यमा खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले बिक्री कक्ष सञ्चालनमा ल्याइएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बिक्री कक्षको उद्घाटन गर्दै उपभोक्तालाई गुणस्तरीय खाद्य सामग्री सहज र सुलभ मूल्यमा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिएकी छन् ।
सिंहदरबारमा बिक्री कक्ष सञ्चालनमा आएपछि त्यहाँ कार्यरत कर्मचारी, सेवाग्राही तथा आसपासका उपभोक्ताले समेत दैनिक आवश्यकताका खाद्य सामग्री सहज रूपमा खरिद गर्न सक्ने अपेक्षा गरिएको छ ।
बिक्री कक्ष बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।
सरकारी स्वामित्वको कम्पनीमार्फत सञ्चालन गरिएको बिक्री कक्षले बजारमा खाद्यवस्तुको मूल्य नियन्त्रण तथा उपभोक्तालाई राहत उपलब्ध गराउने सरकारी प्रयासलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।
-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
दसैँ मनाउन घर फर्किनेको लर्को, नयाँ बसपार्कदेखि कलंकीसम्म चहलपहल
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना
-
सन्तोष परियारको दशैंको मर्मस्पर्शी गीत ‘लाहुरेको दशैं तिहार’ले रुवायो दर्शक