काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सार्वजनिक लेखा समितिको बैठकमा गृह सचिव राजकुमार श्रेष्ठ र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि भएको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्।
प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले आफू अनुपस्थित रहेको समयमा सार्वजनिक लेखा समितिमा गृह सचिव र आईजीपीमाथि गरिएको व्यवहार आफ्नो ध्यानाकर्षणमा रहेको बताएका हुन्।
‘मेरो अनुपस्थितिमा गृह सचिव र नेपाल प्रहरीका आईजीपीलाई जुन व्यवहार सार्वजनिक लेखा समितिमा भयो, त्यसमा मेरो ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘यो राम्रो भएन। उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन। आरोप लगाउन पाइयो भन्दैमा चरित्र हत्या गर्न पाइँदैन।’
गृहमन्त्री गुरुङले उक्त घटनाप्रति गृह मन्त्रालय सन्तुष्ट नरहेको पनि स्पष्ट पारे। सार्वजनिक पदमा रहेका अधिकारीमाथि प्रश्न उठाउँदा तथ्य र प्रमाणका आधारमा मर्यादित ढंगले छलफल हुनुपर्ने उनको भनाइ छ।
उनले आईजीपी कार्कीले गृह मन्त्रालयको निर्देशनअनुसार आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको बताए। आफू प्रहरी प्रमुखको कामको प्रत्यक्षदर्शी रहेको उल्लेख गर्दै कार्की दिनरात आफ्नो जिम्मेवारीमा खटिरहेको उनको दाबी छ।
यसअघि सार्वजनिक लेखा समितिमा नेपाल प्रहरीको पोसाक तथा सामग्री खरिदसम्बन्धी उजुरीमाथि छलफल भएको थियो। सो क्रममा रास्वपाका सांसद खगेन्द्र सुनारले गृह सचिव र आईजीपीमाथि कडा प्रश्न उठाउँदै उनीहरूलाई जिम्मेवारीबाट हटाएर छानबिन गर्नुपर्ने माग गरेका थिए। उक्त प्रस्तुतिलाई लिएर समितिभित्रै केही सांसदले मर्यादित व्यवहार गर्न आग्रह गरेका थिए।
घटनापछि संसदीय समितिमा सार्वजनिक पदाधिकारीसँग गरिने व्यवहार, प्रश्नोत्तरको शैली तथा संसदीय मर्यादाबारे समेत बहस सुरु भएको छ।
गृहमन्त्री गुरुङले भने उजुरी वा आरोपकै आधारमा कसैलाई दोषी ठहर गर्नेभन्दा सम्बन्धित विषयमा तथ्य र प्रमाणका आधारमा आवश्यक छानबिन हुनुपर्ने धारणा राखेका छन्।
-
नेपालमूलकी मेनुका गौतम ‘कियारा’लाई थाइल्यान्डमा सम्मान, अब मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
ककनी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बिदा भए, तीन वर्षे कार्यकालको योगदानको प्रशंसा
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
कथावाचनमार्फत शिक्षण प्रभावकारी बनाउन मर्स्याङ्दीमा शिक्षकका लागि दुईदिने कार्यशाला