logo

शुक्रबार, भाद्र २६ २०८३

kantipurpationlinetv

२०८३ भाद्र २६ शुक्रबार

पर्वतमा ‘सम्सारा घर’को उद्घाटन तयारी अन्तिम चरणमा, तीन वर्षमा ५० बालबालिकालाई निःशुल्क सेवा दिने लक्ष्य

पर्वतमा ‘सम्सारा घर’को उद्घाटन तयारी अन्तिम चरणमा, तीन वर्षमा ५० बालबालिकालाई निःशुल्क सेवा दिने लक्ष्य


  • सोमबार, भाद्र ८ २०८३
  • 42
    SHARES

    पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा पुगेको छ । परियोजनाको भव्य उद्घाटन वि.सं. २०८३ माघको तेस्रो साता गर्ने लक्ष्य राखिएको छ ।

    टुहुरा, विपन्न, अल्पसंख्यक तथा अवसरबाट वञ्चित बालबालिकालाई निःशुल्क सुरक्षित आवाससँगै शिक्षा, स्वास्थ्य, पोषण, कम्प्युटर शिक्षा र आत्मनिर्भर जीवनका लागि आवश्यक सीप उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको सम्सारा घरमा हाल १० जना बालबालिका आश्रित छन् । आगामी तीन वर्षभित्र ५० जना बालबालिकालाई निःशुल्क सेवा दिने लक्ष्य परियोजनाले लिएको छ ।

    सम्सारा घरलाई बालबालिकालाई आश्रय दिने स्थानमा मात्र सीमित नराखी उनीहरूलाई सक्षम, जिम्मेवार र आत्मनिर्भर नागरिक बनाउने दीर्घकालीन अभियानका रूपमा अघि बढाइएको छ । यहाँ बालबालिकाले औपचारिक शिक्षासँगै नेतृत्व विकास, व्यावसायिक तालिम, जीवनोपयोगी सीप तथा उच्च शिक्षासम्मको अवसर पाउने व्यवस्था गरिनेछ ।

    परियोजनाका लागि चार रोपनी जग्गा दान गरिएको छ भने कृषि तथा पशुपालन कार्यक्रम सञ्चालनका लागि थप तीन रोपनी जग्गा खरिद गरिएको छ । यसबाहेक परिवारको स्वामित्वमा रहेको खेतीयोग्य जमिनसमेत फाउन्डेशनलाई निःशुल्क प्रयोगका लागि उपलब्ध गराइएको छ । परियोजनाअन्तर्गत गाई–भैंसीबाट दूध, बाख्राबाट मासु तथा कुखुराबाट मासु र अण्डा उत्पादन गर्नुका साथै आफ्नै जमिनमा धान, मकै, गहुँ, कोदो, तरकारी तथा मौसमी बाली उत्पादन गर्ने योजना छ ।

    आवश्यकताभन्दा बढी उत्पादन भएका कृषि तथा पशुजन्य सामग्री स्थानीय बजारमा बिक्री गरी त्यसबाट प्राप्त आम्दानी बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, तालिम तथा परियोजनाको विकासमा पुनः लगानी गरिने संस्थाले जनाएको छ । यसबाट परियोजनालाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने अपेक्षा गरिएको छ ।

    सम्सारा घरमा २५० सिट क्षमताको बहुउद्देश्यीय सभाहल, खेल मैदान, पुस्तकालय, कम्प्युटर प्रयोगशाला, स्वयंसेवक आवास तथा नेतृत्व विकास केन्द्रसमेत निर्माण गरिनेछ । पुस्तकालय तथा कम्प्युटर प्रयोगशाला Rotary International Global Grant अन्तर्गत अमेरिकाको Fair Lawn Sunrise Rotary Club र नेपालको Fishtail Rotary Club, Pokhara को सहकार्यमा निर्माण भइरहेको छ ।

    सम्पूर्ण परियोजनाको अनुमानित लागत करिब १० करोड रुपैयाँ रहेको छ । संस्थाका अनुसार यो भवन निर्माणमा गरिएको लगानी मात्र नभई अवसरबाट वञ्चित बालबालिकाको सुरक्षित, शिक्षित र आत्मनिर्भर भविष्य निर्माणका लागि गरिएको दीर्घकालीन सामाजिक लगानी हो ।

    परियोजनामा आर्थिक पारदर्शितालाई समेत प्राथमिकता दिइएको छ । प्राप्त नगद दान दैनिक सञ्चालनमा खर्च नगरी प्रत्येक बालबालिकाको नाममा बचत कोषमा सुरक्षित राखिने र माध्यमिक शिक्षा पूरा गरेपछि उच्च शिक्षा, व्यावसायिक तालिम वा भविष्य निर्माणका लागि उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

    सामाजिक उद्यमशीलतालाई समेत अभियानको महत्वपूर्ण आधार बनाएको ARC for Nepal ले श्रेष्ठ परिवारद्वारा सञ्चालित ARC Beauty Salon र Himalayan Fresh Water बाट हुने नाफाको ७५ प्रतिशत हिस्सा संस्थामार्फत नेपाल तथा अमेरिकामा सामुदायिक सेवा र बालबालिकाको भविष्य निर्माणमा समर्पित गर्दै आएको जनाएको छ ।

    सम्सारा घरको उद्घाटन नजिकिँदै गर्दा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनले विश्वभर रहेका व्यक्ति, व्यवसायी, रोटरी क्लब, संघ–संस्था तथा दातृ निकायलाई अभियानमा सहयात्री बन्न आह्वान गरेका छन् ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page