logo

शुक्रबार, कार्तिक २८ २०८३

kantipurpationlinetv

२०८३ कार्तिक २८ शुक्रबार

इच्छाशक्ति र नेतृत्वले बदलिँदै आँबुखैरेनी, उदाहरणीय काम गर्दै अध्यक्ष शुक्र चुमान

इच्छाशक्ति र नेतृत्वले बदलिँदै आँबुखैरेनी, उदाहरणीय काम गर्दै अध्यक्ष शुक्र चुमान


  • शुक्रबार, कार्तिक २८ २०८३
  • 70
    SHARES

    तनहुँ । एउटा व्यक्तिको इच्छाशक्ति, स्पष्ट दृष्टिकोण र प्रतिबद्ध नेतृत्वले स्थानीय तहमा कति परिवर्तन सम्भव छ भन्ने उदाहरण बनेका छन् तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान । स्थानीय तह निर्वाचनमा तनहुँका १० पालिकामध्ये नेकपा माओवादी केन्द्रबाट निर्वाचित एकमात्र पालिका प्रमुख बनेका चुमान पछिल्लो समय गाउँपालिकामा अघि बढाइएका विकास निर्माण तथा जनमुखी कार्यक्रमका कारण चर्चामा छन् ।

    निर्वाचनका बेला तत्कालीन गाउँपालिका अध्यक्ष गिरबहादुर थापा नेपाली कांग्रेसबाट पुनः उम्मेदवार बनेका थिए भने नेकपा एमालेबाट ऋषि केसी चुनावी प्रतिस्पर्धामा थिए । माओवादी केन्द्रबाट उम्मेदवारी दिएका चुमानलाई पार्टीभित्रैबाट उम्मेदवारी फिर्ता लिन दबाब आएको थियो । तर, आफ्नो निर्णयमा अडिग रहेका उनले अन्ततः मतदाताको विश्वास जित्दै गाउँपालिकाको नेतृत्व सम्हाल्ने अवसर पाए ।

    निर्वाचित भएपछि चुमानले स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम अघि बढाए । गाउँपालिकामा आफ्नै अस्पताल सञ्चालनमा ल्याउनुका साथै पालिकास्तरमै डायलाइसिस सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसबाट मिर्गौला रोगका बिरामीलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम गर्न सहयोग पुगेको छ ।

    शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको गुणस्तर सुधारलाई प्राथमिकता दिँदै विद्यालय समायोजनको काम अघि बढाइएको छ । भौगोलिक विकटताका कारण विद्यालय पुग्न कठिनाइ हुने विद्यार्थीलाई लक्षित गरी गाउँपालिकाले बस तथा जीपको व्यवस्था गरेको छ । त्यस्तै, पृथ्वी राजमार्गअन्तर्गत ऐनापहरामा सिर्जनशील संरचना निर्माण गरी पर्यटकीय आकर्षण थप्ने कामसमेत गरिएको छ ।

    कृषि क्षेत्रको विकास र स्थानीय उत्पादनको बजारीकरणमा पनि गाउँपालिकाले नयाँ अभ्यास थालेको छ । किसानलाई निर्वाहमुखी खेतीबाट व्यावसायिक उत्पादनतर्फ आकर्षित गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन् । गाउँपालिकाले पहिलोपटक स्थानीयस्तरमा उत्पादित सयपत्री फूल कतार निर्यात गर्न सफल भएको छ भने किसानका उत्पादनलाई बजारसम्म पुर्‍याउन हाटबजारसमेत सञ्चालनमा ल्याएको छ ।

    पर्यटन प्रवर्द्धनका लागि छिम्केश्वरी र आँधीमुलजस्ता पर्यटकीय क्षेत्रको विकास तथा प्रचारप्रसारलाई प्राथमिकता दिइएको छ । यसका साथै मर्स्याङ्दी नदीमा मोटरबोट सञ्चालन गरी जलविहारमार्फत पर्यटक आकर्षित गर्ने र गाउँपालिकाको आन्तरिक आम्दानी वृद्धि गर्ने प्रयास भइरहेको छ ।

    स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्वाधारका क्षेत्रमा अघि बढाइएका यी कार्यक्रमले आँबुखैरेनी गाउँपालिकालाई फरक पहिचान दिलाउने प्रयास गरेका छन् । चुनावी प्रतिस्पर्धामा सामान्य दाबेदारका रूपमा हेरिएका चुमान अहिले स्थानीय तहको नेतृत्वले इच्छाशक्ति र योजनाबद्ध ढंगले काम गर्न सके नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने सन्देश दिने प्रयासमा छन् ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page