logo

मंगलबार, मंसिर ९ २०८३

kantipurpationlinetv

२०८३ मंसिर ९ मंगलबार

चाँगुनारायणमा ‘चाङ्गु कप’ अन्तरवडा ४ भर्सेस ४ फुटसल प्रतियोगिता हुने

चाँगुनारायणमा ‘चाङ्गु कप’ अन्तरवडा ४ भर्सेस ४ फुटसल प्रतियोगिता हुने


  • आइतबार, कार्तिक १६ २०८३
  • 77
    SHARES

    भक्तपुर: स्थानीय खेलकुदको विकास, खेलाडीहरूको प्रतिभा पहिचान तथा युवाहरूबीच आपसी सद्भाव र मैत्रीपूर्ण सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले भक्तपुरको चाँगुनारायणमा ‘चाङ्गु कप’ अन्तरवडा ४ भर्सेस ४ फुटसल प्रतियोगिता आयोजना हुने भएको छ।

    सहनशील युवा क्लबको आयोजनामा आगामी कात्तिक २१ गते शनिबार चाँगुनारायणस्थित एनईएस फुटसलमा प्रतियोगिता सञ्चालन हुन लागेको हो। खुला विधामा आयोजना हुने प्रतियोगितामा विभिन्न टिमहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

    प्रतियोगितामा प्रत्येक टिमबाट चार जना खेलाडीले मैदानमा प्रतिस्पर्धा गर्न पाउनेछन् भने थप दुई जना वैकल्पिक खेलाडी राख्न सकिनेछ। प्रतियोगितामा सहभागी हुन प्रतिटिम तीन हजार रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ। आयोजकका अनुसार प्रत्येक क्लबबाट सहभागी हुने टिमको सङ्ख्यामा कुनै सीमा तोकिएको छैन।

    प्रतियोगिताको विजेता टिमले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

    त्यस्तै, प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर तथा फेयर प्ले अवार्डलगायतका विधामा समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

    स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने, खेलकुदको विकासमा टेवा पुर्‍याउने, विभिन्न वडाका युवाबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्ने तथा नयाँ खेल प्रतिभाको पहिचान गर्ने प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ।

    प्रतियोगितामा सहभागी हुन इच्छुक टिम तथा खेलाडीले आयोजकसँग सम्पर्क गरी टिम दर्ता गर्न सक्नेछन्। थप जानकारी तथा दर्ताका लागि ९८२३१७८८५३ र ९७६८९५३११९ नम्बरमा सम्पर्क गर्न सकिनेछ।

    ‘खेल खेलौँ, स्वस्थ जीवन जिऔँ !’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिताले चाँगुनारायण क्षेत्रको फुटसल तथा समग्र खेलकुद गतिविधिमा थप उत्साह र ऊर्जा थप्ने अपेक्षा गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page