logo

बिहिबार, माघ १ २०८२

kantipurpationlinetv

२०८२ माघ १ बिहिबार

मेरो सारंगी रोधी क्लबको पहिलो बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

मेरो सारंगी रोधी क्लबको पहिलो बार्षिक उत्सव भव्य रूपमा सम्पन्न


  • मंगलबार, मंसिर २३ २०८२
  • 12.3K
    SHARES

    काठमाडौं । राजधानीस्थित दरबारमार्गमा स्थापित मेरो सारंगी रोधी क्लबले आफ्नो पहिलो बार्षिक उत्सव धुमधामका साथ सम्पन्न गरेको छ। समृद्ध सांस्कृतिक विरासत र मौलिक लोकसंगीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको यस क्लबले ‘प्रथम बार्षिक उत्सव समारोह तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२’ विशेष ऊर्जा, उत्साह र लोकधुनको रंगमञ्चमा सफलतापूर्वक पूरा गरेको हो।

    कार्यक्रमको सभापतित्व गायीका तथा दोहोरी सञ्चालिका संगम लामिछानेले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा वरिष्ठ लोकगायक कृष्ण कडेलको उपस्थितिले कार्यक्रमको गरिमा झनै बढाएको सहभागीहरूको अभिमत थियो। प्रमुख अतिथि कडेलले केक काटेर औपचारिक रूपमा उत्सव उद्घाटन गर्नु हुँदै स्थानीय तथा राष्ट्रिय लोकसंगीतको विकासका लागि यस्तो सांगीतिक संस्था तथा क्लबको योगदान प्रशंसनीय रहेको धारणा व्यक्त गर्नुभयो।

    कार्यक्रममा देशभरबाट चर्चित तथा लोकप्रिय कलाकारहरूको आकर्षक उपस्थिति रहेको थियो। लोकगायन क्षेत्रका ख्यातिप्राप्त कलाकारहरू कुलेन्द्र विश्वकर्मा, मिना लामा, भिमसेन खतिवडा, दिलिप थापा, बिमा कुमारी अनुरागी, सचिता बालाखे (लुईटेल) लगायतका कलाकारहरूले आफ्नै शैली र सुरिलो आवाजमा प्रस्तुत गरेको दोहोरी, लोकगीत तथा आधुनिक लोकधुनहरुले उपस्थित दर्शकलाई मन्त्रमुग्ध पारेका थिए। प्रत्येक कलाकारले आफ्ना चर्चित गीतहरूलाई लाइभ प्रस्तुति दिँदै कार्यक्रममा बेग्लै रौनक थपेका थिए।

    कार्यक्रमका प्रस्तुतकर्ता गायक कृष्ण आँशुले दर्शक र कलाकारबीच सांस्कृतिक भावनालाई जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै कार्यक्रमलाई निरन्तर रमाइलो माहोलमा अघि बढाएका थिए। देशभरीका लोकसंगीतप्रेमी तथा पारखीहरू उपस्थित रहेकाले क्लबले पहिलो वर्षमै उल्लेखनीय लोकप्रियता हासिल गर्न थालिसकेको झल्को कार्यक्रमले दिएको छ।

    लोकसंगीत र संस्कृतिको संरक्षणमा आफूहरू निरन्तर सक्रिय रहन प्रतिवद्ध रहेको क्लबले आफ्नो बार्षिक उत्सवलाई एक हप्तासम्म विशेष कार्यक्रमका रूपमा निरन्तर संचालन गरिने जानकारी दिएको छ। यस अन्तर्गत विभिन्न चर्चित कलाकारहरूको विशेष प्रस्तुति, मौलिक भेषभूषा प्रदर्शन, नेपालका फरक–फरक जातजातिका सांस्कृतिक नृत्य तथा सामूहिक दोहोरी प्रतियोगिता जस्ता आकर्षणहरू रहने क्लबले जनाएको छ।

    सांगीतिक वातावरण, देशभक्तिपूण लोकधुन र सांस्कृतिक रौनकसँगै सम्पन्न ‘मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव’ले नेपाली लोकसंगीतको गौरवशाली परम्परा जोगाउने मार्गमा महत्वपूर्ण योगदान दिएको सहभागीहरूको अभिमत रहेको छ। क्लबले आगामी वर्षहरूमा अझै व्यापक कार्यक्रमहरू ल्याउने विश्वास व्यक्त गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech