logo

बुधबार, माघ २१ २०८२

kantipurpationlinetv

२०८२ माघ २१ बुधबार

आजिवन सदस्यता वितरणसहित राष्ट्रिय संगीतकर्मी संघको वृहत वनभोज सांस्कृतिक कार्यक्रम सम्पन्न

आजिवन सदस्यता वितरणसहित राष्ट्रिय संगीतकर्मी संघको वृहत वनभोज सांस्कृतिक कार्यक्रम सम्पन्न


  • शनिबार, माघ १० २०८२
  • 7.9K
    SHARES

    काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघ, केन्द्रीय कार्यसमितीको आयोजनामा आजिवन सदस्यता वितरण तथा वृहत वनभोज सांस्कृतिक कार्यक्रम–२०८२ सभ्य, भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ।

    नेपाली संगीत क्षेत्रका कलाकारहरूको हकहित, सम्मान, संरक्षण तथा सांस्कृतिक पहिचानको संवर्द्धन गर्ने उद्देश्यसहित वि.सं. २०८२ माघ १० गते आयोजित उक्त कार्यक्रममा कलाकारहरूबीच आपसी सद्भाव, एकता र आत्मीयता अभिवृद्धि भएको सहभागीहरूले बताएका छन्।

    कार्यक्रम नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै आईजीपी कार्कीले राष्ट्रिय संगीतकर्मी संघले संगीत तथा सांस्कृतिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै कलाकार समाजका ऐनाजस्तै भएको उल्लेख गरे। कलाकारको हकअधिकार, सामाजिक सम्मान र सांस्कृतिक पहिचान संरक्षणमा संघको भूमिका उदाहरणीय रहेको बताउँदै उनले आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

    संघका अध्यक्ष प्रकाश कटुवालले संघको स्थापना कालदेखि हालसम्मको यात्राबारे प्रकाश पार्दै चुनौती, संघर्ष र उपलब्धिहरूको चर्चा गरे। कलाकारहरूको साझा अभिभावक संस्थाका रूपमा संघ स्थापित हुनुमा विगतका नेतृत्व, सदस्य तथा शुभेच्छुकहरूको योगदान महत्वपूर्ण रहेको उनको भनाइ थियो। वर्तमान कार्यसमितीले संस्थागत सुदृढीकरण, पारदर्शिता र परिणाममुखी कार्यदिशालाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि उनले बताए।

    कलाकारको एकता, पेशागत सुरक्षा, सम्मानजनक जीवनयापन तथा सामाजिक सुरक्षाका विषयमा संघ निरन्तर क्रियाशील रहँदै आएको अध्यक्ष कटुवालले बताए। यस्ता सिर्जनात्मक, एकतामूलक तथा आत्मीयता बढाउने कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर आयोजना गरिने उनले स्पष्ट पारे।

    कार्यक्रममा संघको वर्तमान कार्यसमितीले गरेका गतिविधिहरूको समीक्षा गर्दै उपस्थित कलाकार, अतिथि तथा शुभेच्छुकहरूले खुलेर प्रशंसा व्यक्त गरेका थिए। पछिल्लो समय अध्यक्ष कटुवालको नेतृत्वमा संस्थागत सुधार, सदस्य विस्तार र कलाकारसँग प्रत्यक्ष संवादमा उल्लेखनीय प्रगति भएको सहभागीहरूको प्रतिक्रिया थियो।

    उक्त अवसरमा समाज, पत्रकारिता, व्यवसाय, सेवा तथा सांस्कृतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। साथै करिब ७० देखि ८० जनालाई आजिवन सदस्यता प्रदान गरिएको संघले जनाएको छ।

    कार्यक्रमका संयोजक तथा संघका उपाध्यक्ष रमेश दुलाल ‘कागे’ले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै कलाकार, समाजसेवी, शुभेच्छुक, प्रायोजक तथा अतिथिप्रति आभार व्यक्त गरे। उनले यस्ता कार्यक्रम कलाकारहरूबीच आपसी समझदारी, एकता र संगठनात्मक मजबुतीका लागि आवश्यक रहेको बताए।

    कार्यक्रममा संघका पूर्व अध्यक्ष राजेन्द्र कार्कीसहित वक्ताहरूले कलाकारको हकहित र अधिकारका विषयमा धारणा राखेका थिए। विशिष्ट अतिथिका रूपमा संघका सल्लाहकार तथा नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराई, जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले, नेपाली कांग्रेस रामेछापका पूर्व सभापति रामचन्द्र खड्कालगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रममा रामजी बगाले, सगरमाथा आरोही प्रहरी नायब निरीक्षक कुन्जाङ छोपेल शेर्पा, समाजसेवी कमल जिसी, ग्रीन सिटी हस्पिटलका सञ्चालक प्रविन टण्डन, व्यवसायी विनोद श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो।

    कार्यक्रमको सञ्चालन संघका महासचिव विनोद ढकालले गरेका थिए भने विभिन्न चर्चित कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा सयौं कलाकारहरूको उपस्थिति रहेको थियो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech