काठमाडौं । नेपाली लोकदोहोरी क्षेत्रमा पछिल्लो समय नयाँ पुस्ताका कलाकारहरूको सक्रियता बढ्दो छ । सामाजिक सञ्जालको प्रभावसँगै युवा पुस्ताले दोहोरीलाई नयाँ शैलीमा प्रस्तुत गर्न थालेका छन् । यही क्रममा गोरखाका युवा गायक बिनोद भट्ट यतिबेला चर्चामा आएका छन् ।
चर्चित लोकदोहोरी गायिका कमला घिमिरेसँग उनले गाएको प्रेमिल दोहोरी भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ‘काटेपछि धुलिखेल डाँडा’ भाकामा आधारित उक्त दोहोरीमा प्रेम र आकर्षणलाई सवाल–जवाफ शैलीमा प्रस्तुत गरिएको छ । भिडियोका विभिन्न क्लिपहरू फेसबुक रिल्स र टिकटकमा व्यापक रूपमा शेयर भइरहेका छन् ।
१८ वर्षीय बिनोद गोरखा जिल्लाको घ्याम्पेसाल–बारपाक सुलिकोट गाउँपालिका–८ का हुन् । परिवारका कान्छा छोरा रहेका उनी हाल काठमाडौंमा बस्दै आएका छन् । उनले हालै कक्षा १२ को परीक्षा दिएका छन् । करिब एक वर्षअघि मात्रै गीत–संगीत क्षेत्रमा प्रवेश गरेका बिनोद छोटो समयमै दर्शकमाझ परिचित बन्न थालेका हुन् ।
बिनोदले दोहोरी क्षेत्रमा आउन प्रेरणा आफूले हेर्दै आएको ‘दोहोरी च्याम्पियन’ कार्यक्रमबाट पाएको बताउँछन् । विद्यालय अध्ययनका क्रममा बिहान ट्युसन पढेर फर्किएपछि नियमित रूपमा लाइभ दोहोरी सुन्ने गरेको अनुभव उनी सुनाउँछन् । निरन्तर अभ्यास र दोहोरीप्रतिको लगावकै कारण अहिले आफूलाई स्टेजमा उभिन सक्ने आत्मविश्वास मिलेको उनको भनाइ छ ।
कमला घिमिरेसँगको दोहोरीमा बिनोदले आत्मविश्वासपूर्ण प्रस्तुति दिएका छन् । शब्द चयन, प्रस्तुति शैली र आवाजका कारण दर्शकले उनको गायनलाई रुचाएका छन् । दोहोरीमा कमलाको अनुभव र बिनोदको नयाँ ऊर्जा मिल्दा प्रस्तुति अझ आकर्षक बनेको प्रतिक्रिया दर्शकको छ ।
उक्त दोहोरी भिडियो विनोद भट्टकै अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा बिनोदको चर्चा बढ्दो क्रममा देखिएको छ । नेपाली लोकदोहोरी क्षेत्रमा नयाँ पुस्ताका प्रतिभाका रूपमा उनी स्थापित हुने प्रयासमा रहेको संगीतकर्मीहरूको भनाइ छ ।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी