logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

गोरखामा गण्डकी लोकतारा अडिसन, बृहत वनभोज तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

गोरखामा गण्डकी लोकतारा अडिसन, बृहत वनभोज तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न


  • शुक्रबार, जेष्ठ १ २०८३
  • 10.7K
    SHARES

    गोरखा — राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति गोरखाको आयोजनामा “गण्डकी लोकतारा अडिसन, बृहत वनभोज तथा स्रष्टा सम्मान कार्यक्रम” गोरखाको शक्तिशाली धार्मिक पीठका रूपमा परिचित अकला मन्दिर परिसरमा सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।

    कार्यक्रम प्रतिष्ठान गोरखाकी अध्यक्ष रिता थापा मगरको अध्यक्षतामा सम्पन्न भएको हो। प्रमुख अतिथिका रूपमा प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाका वरिष्ठ उपाध्यक्ष तथा समाजसेवी पूर्ण लामिछाने उपस्थित थिए। विशिष्ट अतिथिहरूमा संस्थाका संस्थापक केन्द्रीय सदस्य रामचन्द्र अर्याल, पूर्व अध्यक्ष करसिंह थापा, सल्लाहकारद्वय सुमन पण्डित ‘बैरागी’ र रमेश पोख्रेल, ठाडो भाकाका संरक्षण समितिका अध्यक्ष पृथ्वी गुरुङलगायत जिल्लाका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा गोरखाली कलाकारहरूको समेत बाक्लो उपस्थिति रहेको आयोजकले जनाएको छ।

    गण्डकी लोकताराका लागि आयोजित अडिसनमा झन्डै एक दर्जन गोरखाली कलाकारहरूको सहभागिता रहेको थियो। निर्णायक मण्डल संयोजक प्रतिष्ठान गोरखाका संस्थापक अध्यक्ष काजीबाबु अर्याल रहेका थिए। अडिसनमार्फत आगामी जेठ ९ गते गण्डकी प्रदेशमा हुने दोस्रो चरणका लागि गोरखाबाट निश्चल गुरुङ छनोट भएका छन्।

    कार्यक्रममा लामो समयदेखि लोकसंगीतको क्षेत्रमा योगदान पुर्‍याउँदै आएका स्रष्टा तथा पत्रकारहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूमा संस्थापक सचिव तथा पत्रकार किशोर जंग थापा, पूर्व कोषाध्यक्ष कर्ण अधिकारी, गायक तथा संगीतकार चन्द्र परियार तथा ठाडो भाकाका महानायक बुद्धिमान दुरा धम्पु रहेका छन्। त्यस्तै, आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको भन्दै पूर्व अध्यक्ष हरिराम परियारलाई समेत सम्मान गरिएको थियो। सम्मान ग्रहणपछि स्रष्टा किशोर जंग थापाले संस्थाप्रति आभार व्यक्त गर्दै नेपाली कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।

    प्रतिष्ठान गण्डकी प्रदेशकी अध्यक्ष माया गुरुङलाई जिल्ला कार्यसमिति गोरखाको तर्फबाट बधाईपत्र प्रदान गरिएको थियो। साथै, गोरखाबाट गण्डकी प्रदेश कार्यसमितिमा निर्वाचित भएका पदाधिकारीहरू—द्वितीय उपाध्यक्ष होम गुरुङ, महिला उपाध्यक्ष मन्जु बिक, सचिवालय सदस्य अनिता पन्त, तथा कार्यसमिति सदस्यहरू विकास नेपाली, सुनीमा गुरुङ र दिनेश थापालाई समेत बधाई ज्ञापन गरिएको थियो।

    कार्यक्रममा ठाडो भाकाका कलाकारहरूबीच रोचक दोहोरी प्रतिस्पर्धा समेत भएको थियो, जसमा ठाडो भाकाका बादशाह धम्पु र प्रतिष्ठान गोरखाकी पूर्व अध्यक्ष मिना गुरुङबीचको प्रस्तुति विशेष आकर्षण बनेको थियो। कार्यक्रम सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक रूपमा सहयोग गर्ने सबै सहयोगीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि पूर्ण लामिछानेले लोक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने भन्दै आयोजक संस्थालाई धन्यवाद व्यक्त गरे। उनले विदेशमा रहेका नेपालीहरू पनि मातृभूमिको कला–संस्कृतिप्रति उत्तिकै संवेदनशील रहेको उल्लेख गर्दै आगामी दिनमा अझ सशक्त रूपमा सहयोग रहने बताए।

    त्यस्तै, कार्यक्रमकी सभापति रिता थापा मगरले गण्डकी लोकतारा जस्ता प्रतियोगिता र स्रष्टा सम्मान कार्यक्रमले स्थानीय कलाकारहरूलाई प्रोत्साहन मिल्ने बताउँदै प्रतिष्ठानको निरन्तर सक्रियताले गोरखाको सांस्कृतिक पहिचानलाई थप मजबुत बनाएको धारणा राखिन्।

    कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष शिव केसीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए भने सचिव अमिस उपरकोटीले कार्यक्रम सञ्चालन गरेका थिए। अन्त्यमा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू सहित वनभोज तथा सम्मान कार्यक्रम उल्लासमय वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page