logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

पालुङटार भजन महोत्सव भव्य रूपमा सम्पन्न

पालुङटार भजन महोत्सव भव्य रूपमा सम्पन्न


  • बुधबार, जेष्ठ ६ २०८३
  • 2.8K
    SHARES

    गोरखा । पालुङटार नगरपालिकाको आयोजना तथा ओंकार योग आयुर्वेद गुरुकुलको व्यवस्थापनमा “पालुङटार भजन महोत्सव–२०८३” भव्य रूपमा सम्पन्न भएको छ ।

    मंगलबार आयोजित महोत्सवमा भक्ति, संस्कृति र नेपाली मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धनमा विशेष जोड दिइएको थियो । पालुङटार नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष अर्जुनबहादुर कुमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख विवस चिन्तन प्रमुख अतिथि रहनुभएको थियो ।

    कार्यक्रममा नगर उपप्रमुख वन्दना पाण्डे, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बि.सी., वरिष्ठ शाखा अधिकृत माधव पोखरेल, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानका केन्द्रिय अध्यक्ष नारायण खनाल ‘लेकाली’, केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रमराज अधिकारी, वागमती प्रदेश इन्चार्ज नवीन पौडेल, गण्डकी प्रदेश अध्यक्ष बसन्त बास्तोला लगायतको उपस्थिति रहेको थियो ।

    महोत्सवमा भजन गायिका उमा बिडारी, लोक तथा दोहोरी गायिका सीमा थापा र नृत्य कलाकार अमिशा राईको प्रस्तुति दर्शकको आकर्षण बनेको थियो । साथै विभिन्न भजन समूह तथा विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ ।

    कार्यक्रममा राधाकृष्ण भजन, रामभक्ति गीत, सांस्कृतिक झाँकी तथा परम्परागत नृत्य प्रस्तुत गरिएको थियो । पालुङटार नगरपालिका सहित विभिन्न क्षेत्रबाट आएका १२ वटा भजन समूहले सहभागिता जनाएका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विवस चिन्तनले भजन तथा मौलिक संस्कृतिको संरक्षणमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले बालन नाच संरक्षणका लागि आवश्यक बजेट विनियोजन गरिने समेत घोषणा गर्नुभयो ।

    गुरुकुल संरक्षक गोविन्द आचार्य रेग्मीले यस्ता कार्यक्रमले नयाँ पुस्तामा धर्म, संस्कृति र परम्पराप्रति आकर्षण बढाउने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रमको सञ्चालन स्रोत शिक्षक सन्तोष पाण्डेले गर्नुभएको थियो । आयोजकका अनुसार महोत्सवले लोपोन्मुख भजन चुड्का परम्परा तथा सनातन संस्कृतिको संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page