logo

बिहिबार, असार २५ २०८३

kantipurpationlinetv

२०८३ असार २५ बिहिबार

वार्षिक समीक्षा गर्दै दोर्दी गाउँपालिकाले उत्कृष्ट ६ कर्मचारीलाई गर्‍यो सम्मान

वार्षिक समीक्षा गर्दै दोर्दी गाउँपालिकाले उत्कृष्ट ६ कर्मचारीलाई गर्‍यो सम्मान


  • बिहिबार, असार २५ २०८३
  • 1.4K
    SHARES

    असार २४ — दोर्दी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा, अन्तरक्रिया तथा उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममार्फत गाउँपालिकाले वर्षभरि भएका कार्यहरूको समीक्षा गर्नुका साथै उत्कृष्ट कार्यसम्पादन गरेका कर्मचारीलाई सम्मान गर्दै सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउने प्रतिबद्धता जनाएको छ।

    बुधबार गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा आर्थिक वर्षभरि सञ्चालन भएका विकास निर्माण, सेवा प्रवाह तथा संस्थागत कार्यसम्पादनको समग्र समीक्षा गरिएको थियो। कार्यक्रममा आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउने विषयमा जनप्रतिनिधि र कर्मचारीबीच अन्तरक्रिया तथा छलफल भएको थियो।

    कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष विच्छ बहादुर घले, प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले, कार्यपालिका सदस्यहरू, जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

    सोही अवसरमा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गरेका ६ जना कर्मचारीलाई सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा लेखा अधिकृत ताराचन्द्र ढकाल, सूचना प्रविधि अधिकृत रञ्जित श्रेष्ठ, ना.प्रा.स. श्याम सुन्दर प्रसाद पटेल, खा.पा.स.टे. रकेट बुढा, अनमी मनमाया रावत तथा कार्यालय सहयोगी आइतबहादुर गुरुङ रहेका छन्।

    अध्यक्ष अधिकारीले सम्मानित कर्मचारीहरूलाई बधाई दिँदै उत्कृष्ट कार्यको सम्मानले कर्मचारीहरूमा थप जिम्मेवारीबोध, इमान्दारिता र सेवाप्रतिको प्रतिबद्धता विकास हुने विश्वास व्यक्त गरे। उनले सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धिका लागि निष्ठापूर्वक काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने नीति आगामी दिनमा पनि निरन्तर रहने बताए।

    गाउँपालिकाका अनुसार उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रमले कर्मचारीहरूबीच सकारात्मक प्रतिस्पर्धा, उच्च मनोबल र सुशासन प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै यस्ता कार्यक्रमले संस्थागत क्षमता अभिवृद्धिसँगै नागरिकलाई प्रदान गरिने सेवा थप प्रभावकारी र गुणस्तरीय बनाउन टेवा पुग्ने विश्वास गाउँपालिकाले व्यक्त गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page