गोरखा, असार २५। नेपालका विभिन्न जिल्लामा अत्यधिक संक्रामक बर्डफ्लु (एच–फाइभ–एन–वान/H5N1) संक्रमण पुष्टि भएसँगै गोरखा जिल्लामा पनि संक्रमण फैलिने जोखिम बढेको भन्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, गोरखाले किसान, पक्षी व्यवसायी तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, गोरखाका वरिष्ठ पशु चिकित्सक तथा कार्यालय प्रमुख डा. अनन्त कोइरालाले बुधबार जारी गरेको अत्यन्त जरुरी सूचनामा झापा, मोरङ, सुनसरी, चितवन, महोत्तरी, बारा, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लामा बर्डफ्लु संक्रमण पुष्टि भइसकेको उल्लेख गर्दै गोरखामा पनि रोग फैलिन सक्ने उच्च जोखिम रहेको जनाइएको छ।
कार्यालयले घरपालुवा कुखुरा तथा अन्य पक्षीलाई काग तथा जंगली पक्षीसँग सम्पर्क हुन नदिई सुरक्षित रूपमा पालन गर्न आग्रह गरेको छ। साथै, पक्षी फार्ममा अनावश्यक व्यक्ति तथा सवारी साधनको प्रवेशमा रोक लगाई प्रवेश गराउनै परे पूर्ण रूपमा निःसंक्रमण (डिसइन्फेक्सन) गरेर मात्र प्रवेश गराउनुपर्ने जनाएको छ।
यस्तै, प्रयोग भइसकेका अण्डा राख्ने कागजी क्रेट पुनः प्रयोग नगर्न, कुकुर, बिरालो, मुसालगायत अन्य जनावरलाई खोरभित्र प्रवेश गर्न नदिन तथा मरेका पक्षीलाई जथाभावी नफाली सुरक्षित रूपमा गाड्ने वा जलाएर व्यवस्थापन गर्न कार्यालयले अनुरोध गरेको छ।
सूचनामा पक्षी फार्ममा कार्यरत कामदार, प्राविधिक तथा पशु चिकित्सकले मास्क, पञ्जा, बुटलगायत व्यक्तिगत सुरक्षा सामग्री अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने उल्लेख छ। साथै, पक्षी तथा पक्षीजन्य पदार्थ (अण्डा, मासु लगायत) ओसारपसार गर्दा पशु चिकित्सकबाट जारी गरिएको भेटेरिनरी प्रमाणपत्र अनिवार्य साथमा राख्नुपर्ने जनाइएको छ।
कार्यालयले पक्षीमा लाग्ने अन्य संक्रामक रोगविरुद्ध नियमित रूपमा खोप लगाउन तथा जैविक सुरक्षा (बायो–सेक्युरिटी) का मापदण्ड कडाइका साथ पालना गर्न पनि आग्रह गरेको छ।
कुनै पनि पक्षी फार्म वा अन्य स्थानमा अस्वाभाविक रूपमा धेरै पक्षी बिरामी परेमा, मरेमा वा बर्डफ्लुको आशंका लागेमा तत्काल भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, गोरखा वा नजिकको पशु सेवा शाखामा जानकारी गराउन कार्यालयले अनुरोध गरेको छ।
थप जानकारीका लागि ०६४–४११२५१ र ९८५६०७११५१ नम्बरमा सम्पर्क गर्न सकिने कार्यालयले जनाएको छ।
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
ककनी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बिदा भए, तीन वर्षे कार्यकालको योगदानको प्रशंसा
-
जन्मदिनमा फजुल खर्च कटाएर मानव सेवा आश्रमका वृद्धवृद्धालाई भोजन गराइन् गायिका मधु रसाइलीले
-
गोरखाली गायक पारस राज अधिकारीको नयाँ तीज गीत ‘मुस्काउँदा मुसुक्क’ सार्वजनिक
-
विद्यार्थीमा डिजिटल सीप विकास गर्न लुईटेलमा आईसीटी तथा एआई बुटक्याम्प सुरु