गोरखा, असार २५। गोरखा जिल्लाको पालुङटार नगरपालिकाले आगामी साउनदेखि नगरपालिकाको कार्यालयबाटै भूमि प्रशासन (मालपोत) सेवा सञ्चालन गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम तथा बजेटमार्फत नगरसभाले भूमि प्रशासन शाखा सञ्चालन गर्ने निर्णय गरेसँगै सेवा सञ्चालनको तयारीलाई तीव्रता दिइएको हो।
नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेका अनुसार आगामी आर्थिक वर्षको सुरुवातसँगै सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ। आवश्यक आन्तरिक तयारी भइरहेको उल्लेख गर्दै उनले सेवा सुरु भएपछि पालुङ्टारवासीले नापी तथा मालपोतसम्बन्धी सेवा आफ्नै पालिकाबाटै प्राप्त गर्न सक्ने बताइन्।
उनका अनुसार भूमि प्रशासन सेवा स्थानीय तहको एकल अधिकार अन्तर्गत पर्ने विषय भएकाले संविधानको व्यवस्था कार्यान्वयन गर्दै नगरपालिकाले उक्त सेवा सञ्चालन गर्न लागेको हो। भौगोलिक अवस्था र भूमिसम्बन्धी कारोबारको उच्च चापका कारण पालुङ्टारमा यस्तो शाखाको आवश्यकता लामो समयदेखि महसुस हुँदै आएको उनको भनाइ छ।
उपप्रमुख पाण्डेले गोरखा जिल्लामा हुने समग्र भूमिप्रशासनसम्बन्धी गतिविधिमध्ये करिब ५० प्रतिशत पालुङ्टार नगरपालिकासँग सम्बन्धित रहेको दाबी गरिन्। प्रारम्भिक चरणमा नगरपालिकाको मौजुदा जनशक्ति र स्रोत–साधन परिचालन गरी सेवा सञ्चालन गरिने तथा आवश्यकता अनुसार सेवा विस्तार गरिने उनले जानकारी दिइन्।
नगरपालिकाले सेवा सञ्चालनसँगै स्थानीय तहको राजस्व वृद्धि हुनुका साथै सेवा प्रवाह थप छिटो, सहज र प्रभावकारी बन्ने अपेक्षा गरेको छ। यसबाट जग्गा प्रशासनसम्बन्धी कामका लागि सेवाग्राहीले जिल्ला सदरमुकामस्थित मालपोत तथा नापी कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास गरिएको छ।
नगरपालिकाका अनुसार स्थानीयस्तरबाटै सेवा उपलब्ध भएपछि सेवाग्राहीको समय, खर्च र झन्झटमा उल्लेख्य कमी आउनेछ भने भूमि प्रशासनसम्बन्धी सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र नागरिकमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्नेछ।
-
सार्वजनिक बिदाका दिनसमेत खुला रहने बारपाक सुलिकोट गाउँपालिकाको कार्यालय
-
ऐतिहासिक लिगलिगे दौडको प्रारम्भिक स्थलमा सरसफाई तथा वृक्षारोपण सम्पन्न
-
मर्स्याङ्दी गाउँपालिकाद्वारा कक्षा १–८ का लागि ‘हाम्रो मर्स्याङ्दी’ स्थानीय पाठ्यपुस्तक सार्वजनिक
-
गोरखामा भ्याट र परिवर्तित करबारे अभिमुखीकरण, ९० व्यवसायी सहभागी
-
गोरखा पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा