गोरखा । पालुङटार नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सामूहिक दुर्घटना बिमा गराउने भएको छ। यसका लागि नगरपालिकाले IGI Prudential Insurance Limitedसँग सम्झौता गरेको छ। हिजो नगरपालिकामा सम्पन्न सम्झौताअनुसार नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ४ हजार ५८२ विद्यार्थीको एक वर्षका लागि सामूहिक दुर्घटना बिमा गरिनेछ। प्रत्येक विद्यार्थीको ७० हजार रुपैयाँ बराबरको दुर्घटना बिमा गरिने व्यवस्था गरिएको छ।
सम्झौताअनुसार बिमाका लागि आवश्यक प्रक्रिया पूरा भएपछि नगरपालिकाले सम्झौताबमोजिमको रकम इन्स्योरेन्स कम्पनीलाई भुक्तानी गर्नेछ। विद्यार्थीको विवरण अद्यावधिक हुने अवस्थालाई ध्यानमा राख्दै नगरपालिकाको सिफारिसमा सूचीमा समावेश नभएका थप ५० जनासम्म विद्यार्थीको समेत बिमा गर्न सकिने व्यवस्था गरिएको छ।
सम्झौतामा प्रति विद्यार्थी १०५ रुपैयाँ बिमा शुल्क र २० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। इन्स्योरेन्स कम्पनीले प्रचलित बिमा सम्बन्धी कानुन तथा आफ्नो सेवा मापदण्डबमोजिम दुर्घटना बिमा सेवा उपलब्ध गराउनेछ। दुर्घटना दाबी परेमा आवश्यक कागजात प्राप्त भएपछि प्रचलित व्यवस्था अनुसार दाबी भुक्तानी गरिने सम्झौतामा उल्लेख छ।
सम्झौतापत्रमा नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी र IGI Prudential Insurance Limitedका प्रतिनिधिले हस्ताक्षर गरेका छन्। साक्षीका रूपमा उपसचिव मनोज सिर्मल रहेका छन्।
सम्झौतामा इन्स्योरेन्स कम्पनीले निर्धारित सेवा सर्त तथा दायित्व पूरा नगरेमा नगरपालिकाले आवश्यकता अनुसार पूर्ण वा आंशिक रूपमा सम्झौता रद्द गर्न सक्ने व्यवस्था गरिएको छ।
नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सुरक्षा सुदृढ गर्दै दुर्घटनाबाट उत्पन्न हुन सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सामूहिक दुर्घटना बिमा कार्यक्रम कार्यान्वयनमा ल्याएको जनाएको छ।
-
सार्वजनिक बिदाका दिनसमेत खुला रहने बारपाक सुलिकोट गाउँपालिकाको कार्यालय
-
ऐतिहासिक लिगलिगे दौडको प्रारम्भिक स्थलमा सरसफाई तथा वृक्षारोपण सम्पन्न
-
मर्स्याङ्दी गाउँपालिकाद्वारा कक्षा १–८ का लागि ‘हाम्रो मर्स्याङ्दी’ स्थानीय पाठ्यपुस्तक सार्वजनिक
-
गोरखामा भ्याट र परिवर्तित करबारे अभिमुखीकरण, ९० व्यवसायी सहभागी
-
गोरखा पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा