काठमाडौं । लोकप्रिय मोडल तथा कलाकार लोमस शर्माद्वारा लिखित पुस्तक ‘शक्ति’ विमोचन गरिएको छ ।
कीर्तिपुरस्थित बाघ भैरव ब्याङ्क्वेटमा आयोजित विशेष कार्यक्रमबीच पुस्तक विमोचन गरिएको हो । इक्यान नेपालका निवर्तमान अध्यक्ष शेषराज भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा लोकप्रिय गायक खुमन अधिकारी तथा म्युजिक भिडियो निर्देशक एवं कलाकार प्रकाश भट्टको विशेष उपस्थिति थियो ।
पुस्तक विमोचन कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, सामाजिक व्यक्तित्व, विद्यालयका विद्यार्थी तथा सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।
लेखक लोमस शर्माले ‘शक्ति’ पुस्तकले मानिसलाई सकारात्मक सोच, आत्मविश्वास र जीवनप्रतिको दृष्टिकोणमा परिवर्तन ल्याउन प्रेरित गर्ने बताए । पुस्तक अध्ययन गरेपछि पाठकले आफूभित्र छुट्टै प्रकारको शक्ति महसुस गर्ने उनको भनाइ छ ।
कार्यक्रममा गायक खुमन अधिकारीले लोमस शर्माको नयाँ सिर्जनात्मक प्रयासको प्रशंसा गर्दै पुस्तकका लागि शुभकामना व्यक्त गरे । उनले कला क्षेत्रमा सक्रिय शर्माले साहित्यिक क्षेत्रमा समेत पाइला अघि बढाउनु सकारात्मक भएको बताए ।
त्यस्तै, निर्देशक तथा कलाकार प्रकाश भट्टले शर्माको सिर्जनात्मक यात्राको चर्चा गर्दै पुस्तक प्रकाशनका लागि शुभकामना दिए । उनले ‘शक्ति’ले पाठकलाई सकारात्मक सन्देश दिन सक्ने विश्वास व्यक्त गरे ।
प्रमुख अतिथि शेषराज भट्टराईले ज्ञान, अनुभव र विचारलाई पुस्तकका माध्यमबाट पाठकमाझ पुर्याउनु महत्वपूर्ण कार्य भएको बताए । उनले ‘शक्ति’ पुस्तकले युवापुस्तालाई सकारात्मक सोच र आत्मविश्वासतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
लोमस शर्मा करिब एक दशकदेखि नेपाली गीतसंगीत तथा म्युजिक भिडियो क्षेत्रमा सक्रिय छन् । उनले हालसम्म १ हजारभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । ‘सोधेझैँ जिन्दगी’ बोलको गीतको म्युजिक भिडियोबाट अभिनय यात्रा सुरु गरेका शर्माले पहिलो म्युजिक भिडियो नै दर्शकमाझ लोकप्रिय भएपछि निरन्तर यस क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनको अभिनय रहेका थुप्रै म्युजिक भिडियो दर्शक तथा श्रोतामाझ लोकप्रिय छन् । उनले चलचित्र ‘बल्की’ मा समेत अभिनय गरेका छन् । यद्यपि उक्त चलचित्र हालसम्म प्रदर्शनमा आइसकेको छैन ।
पुस्तक विमोचनपछि लोमस शर्मा विशेष कार्यक्रमका लागि अस्ट्रेलिया प्रस्थान गर्ने तयारीमा छन् । कला क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेका शर्माले पछिल्लो समय लेखनमार्फत समेत सिर्जनात्मक यात्रालाई अघि बढाएका हुन् ।
‘शक्ति’ आफ्नो जीवन, अनुभव र सोचबाट विकसित भएको सिर्जना भएको बताउँदै शर्माले पुस्तकमार्फत पाठकलाई सकारात्मक ऊर्जा र आत्मविश्वास प्रदान गर्ने उद्देश्य रहेको बताए ।
पुस्तक विमोचन कार्यक्रम फुजी इन्टरनेसनल कन्सल्टेन्सी र आईटी एजुकेसनल कन्सल्टेन्सी, कीर्तिपुर, काठमाडौं को आयोजनामा भएको हो । कार्यक्रममा फुजी इन्टरनेसनल कन्सल्टेन्सीका सीईओ सन्तोष कुँवर तथा आईटी एजुकेसनल कन्सल्टेन्सीका सञ्चालक सुरेन्द्र महर्जनलगायतको उपस्थिति थियो । कार्यक्रममा सहभागी अतिथि तथा शुभेच्छुकहरूले लोमस शर्माको नयाँ साहित्यिक यात्राको सफलताको शुभकामना दिएका थिए ।
-
नेपालमूलकी मेनुका गौतम ‘कियारा’लाई थाइल्यान्डमा सम्मान, अब मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
ककनी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बिदा भए, तीन वर्षे कार्यकालको योगदानको प्रशंसा
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
कथावाचनमार्फत शिक्षण प्रभावकारी बनाउन मर्स्याङ्दीमा शिक्षकका लागि दुईदिने कार्यशाला