काठमाडौं । पछिल्लो समय नेपाली युवापुस्ताले भोगिरहेको बेरोजगारी, विदेश जाने चाहना, भिसाको अनिश्चितता र आर्थिक अभावलाई समेटेर गायक सचिन भट्टराईले नयाँ तीज गीत ‘मलाई नेपाल बस्नै मन थिएन, एम्बेसीले भिसा दिएन’ सार्वजनिक गर्ने तयारी गरेका छन् । समसामयिक सामाजिक यथार्थलाई गीतमार्फत प्रस्तुत गरिएको उक्त गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । गीतमा गायक भट्टराईसँगै लोकप्रिय गायिका टिका सानुको स्वर रहेको छ ।
गायक भट्टराईकै लय तथा शब्द रहेको गीतको म्युजिक भिडियोको निर्देशन मुकेश नेपालीले गरेका हुन् । भिडियोमा गायक भट्टराई र गायिका टिका सानुले स्वयं अभिनय गरेका छन् । त्यस्तै बबिन सिंह ठकुरी, सुवर्ण दुलाल, ममता राना मगर र सजिना मोक्तानलगायत कलाकारको समेत अभिनय रहेको छ ।
काठमाडौंको टोखास्थित भूतखेलमा छायांकन गरिएको भिडियोमा युवापुस्ताको विदेश मोह, स्वदेशमै अवसरको अभाव र त्यसबाट उत्पन्न निराशालाई कथात्मक रूपमा प्रस्तुत गरिएको छ । छायांकनका क्रममा गायक–गायिका तथा कलाकारलाई हेर्न र भेट्न फ्यान तथा समर्थकको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
गायक भट्टराईका अनुसार यो गीत केवल मनोरञ्जनका लागि तयार गरिएको तीज गीत नभई अहिलेको पुस्ताले भोगिरहेको समयको कथा हो । ‘पासपोर्ट हातमा छ, सपना मनमा छ तर गन्तव्य कहाँ भन्ने थाहा छैन,’ गीतको भावबारे भट्टराईले भनेका छन् । उनका अनुसार नेपालमा युवाहरूमा बढिरहेको निराशा र अवसरको खोजीमा विदेशिनुपर्ने बाध्यतालाई गीतले समेटेको छ । डिग्री हासिल गरे पनि स्वदेशमा रोजगारीको अवसर नपाउने, विदेश जान खोज्दा भिसा नपाउने, लामो समय काम गर्दा पनि न्यून आम्दानी हुने, महँगो कोठाभाडा र दैनिक खर्च धान्न कठिन हुनेजस्ता विषय गीतमा समेटिएका छन् ।
त्यस्तै, हजारौँ सपना बोकेर हिँड्ने तर ती सपना पूरा गर्न नसक्ने युवाको पीडालाई समेत गीतमा प्रस्तुत गरिएको छ । नेपाली कला क्षेत्रमा लामो समयदेखि सक्रिय कलाकारहरू ओझेलमा पर्ने तर भाइरल सामग्रीका कारण नयाँ व्यक्तिले छिट्टै चर्चा पाउने प्रवृत्तिमाथि पनि गीतले व्यंग्य गरेको छ । यसकारण गीतलाई अहिलेको नेपाली समाज र विशेषगरी युवापुस्ताको यथार्थसँग जोडिएको सिर्जनाका रूपमा प्रस्तुत गरिएको छ । गायक–गायिकाले गीतले दर्शक तथा श्रोताको मन छुने विश्वास व्यक्त गरेका छन् ।
गोरखाको भीमसेन थापा गाउँपालिका–२ का स्थायी बासिन्दा सचिन भट्टराई विगत एक दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छन् । काठमाडौंलाई कर्मथलो बनाएका उनले सयौँ प्रत्यक्ष दोहोरीमा प्रस्तुति दिनुका साथै दर्जनौँ गीतमा स्वर दिएका छन् । उनका ‘युके लान्छु रेलीमै’, ‘बनैमा स्याउला छ’, ‘कसकी छोरी होला’, ‘तिम्रो माया मङ्गो रहेछ चिन्न सकिन’, ‘छायाँ सिसाको’, ‘सुनको चुराले’, ‘छड्के छाता’ र ‘नक्कली कान्छी’ लगायतका गीत दर्शक–श्रोतामाझ परिचित छन् । तीज गीतमार्फत सांगीतिक यात्रा सुरु गरेका भट्टराईले पछिल्लो समय पनि निरन्तर नयाँ सिर्जनामार्फत दर्शक–श्रोतामाझ पुगिरहेका छन् । उनले दर्जनौँ लाइभ दोहोरी तथा विभिन्न सांगीतिक प्रस्तुतिमा आफ्नो आवाज दिइसकेका छन् ।
‘मलाई नेपाल बस्नै मन थिएन, एम्बेसीले भिसा दिएन’ को म्युजिक भिडियो सचिन भट्टराई अफिसियल युट्युब च्यानलमार्फत केही दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।