logo

बिहिबार, असार २५ २०८३

kantipurpationlinetv

२०८३ असार २५ बिहिबार

काठमाडौंमा फाइभजीको चर्चा भइरहँदा कर्णाली अझै टुजीमै सीमित : सांसद् विदुषी राणा

काठमाडौंमा फाइभजीको चर्चा भइरहँदा कर्णाली अझै टुजीमै सीमित : सांसद् विदुषी राणा


  • सोमबार, असार २२ २०८३
  • 1.3K
    SHARES

    काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् विदुषी राणाले काठमाडौंमा फाइभजी प्रविधिको चर्चा भइरहँदा कर्णाली र अन्य दुर्गम हिमाली क्षेत्रका नागरिक अझै पनि टुजी सेवामै सीमित रहनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

    सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद् राणाले सञ्चार सेवामा देखिएको असमान पहुँचले दुर्गम क्षेत्रका नागरिक आधारभूत सेवाबाट समेत वञ्चित हुनुपरेको बताइन्।

    उनले माथिल्लो डोल्पाका शे–फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकालगायत कर्णालीका अधिकांश दुर्गम क्षेत्रमा सञ्चार सेवाको अवस्था अझै दयनीय रहेको उल्लेख गरिन्। उनका अनुसार सञ्चार पहुँचको अभावले स्थानीयले शिक्षा, स्वास्थ्य, बैंकिङ तथा सरकारी सेवा प्राप्त गर्न कठिनाइ भोगिरहेका छन्।

    ‘काठमाडौंमा फाइभजीको चर्चा भइरहेको छ, तर कर्णाली र अन्य दुर्गम हिमाली क्षेत्रका धेरै नागरिक आज पनि कमजोर टुजी सेवामै सीमित छन्,’ उनले भनिन्।

    राणाले सञ्चार पूर्वाधारको अभावले दुर्गम क्षेत्रका विद्यार्थी, किसान तथा सर्वसाधारण प्रत्यक्ष रूपमा प्रभावित भएको बताइन्।

    ‘काठमाडौंको एउटा विद्यार्थीले एक क्लिकमै संसारकै उत्कृष्ट कक्षाकोठासँग जोडिन सक्छ, तर डोल्पा र हुम्लाका विद्यार्थीले सामान्य इन्टरनेट सिग्नल खोज्न पनि पहाड चढ्नुपर्ने अवस्था छ,’ उनले भनिन्। ‘कुनै गर्भवती महिलाले स्वास्थ्यकर्मीको सल्लाह लिन, किसानले बजारको जानकारी पाउन र युवाले अनलाइन अवसर खोज्नसमेत सञ्चार अभावसँग संघर्ष गर्नुपरेको छ।’

    दुर्गम क्षेत्रमा सञ्चार सुविधा विलासिताको विषय नभई नागरिकका लागि ‘जीवनरेखा’ भएको उल्लेख गर्दै सांसद् राणाले कर्णालीसहित देशभरका दुर्गम हिमाली क्षेत्रलाई उच्च प्राथमिकतामा राखी आगामी कार्तिक महिनाभित्र भरपर्दो सञ्चार सेवा विस्तार गर्न सरकारसँग माग गरिन्।

    उनले डिजिटल नेपालको अवधारणा सफल बनाउन राजधानी र दुर्गम क्षेत्रबीचको डिजिटल विभाजन अन्त्य गर्नु अपरिहार्य रहेको समेत बताइन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page