logo

मंगलबार, साउन ५ २०८३

kantipurpationlinetv

२०८३ साउन ५ मंगलबार

एक लाख ३९ हजार पर्यटकले गरे गोरखा संग्रहालय भ्रमण, अहिलेसम्मकै उच्च राजश्व संकलन

एक लाख ३९ हजार पर्यटकले गरे गोरखा संग्रहालय भ्रमण, अहिलेसम्मकै उच्च राजश्व संकलन


  • मंगलबार, साउन ५ २०८३
  • 0.8K
    SHARES

    गोरखा । गोरखा सदरमुकामस्थित गोरखा संग्रहालयमा गत आर्थिक वर्ष २०८२/०८३ मा पर्यटक आगमन र राजश्व संकलन दुवैमा उल्लेखनीय वृद्धि भएको छ। संग्रहालयले एकै आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक भित्र्याउँदै प्रवेश शुल्कबाट सर्वाधिक राजश्व संकलन गरेको छ।

    गोरखा संग्रहालयका प्रमुख जयनारायण कार्कीका अनुसार गत आर्थिक वर्षमा एक लाख ३९ हजार ११० जना स्वदेशी तथा विदेशी पर्यटकले संग्रहालयको भ्रमण गरेका छन्। उनीहरूबाट प्रवेश शुल्कबापत ३२ लाख ९० हजार ५६० रुपैयाँ राजश्व संकलन भएको छ। संग्रहालय स्थापना भएयताकै यो सबैभन्दा धेरै राजश्व संकलन भएको वर्ष भएको उनले बताए।

    यसअघि आर्थिक वर्ष २०८१/०८२ मा संग्रहालयले एक लाख २२ हजार ७३३ जना पर्यटकबाट २८ लाख ७४ हजार ५५ रुपैयाँ राजश्व संकलन गरेको थियो। त्यस्तै आर्थिक वर्ष २०८०/०८१ मा एक लाख १९ हजार १८७ जना पर्यटकले संग्रहालय भ्रमण गर्दा २७ लाख ८५ हजार ४९१ रुपैयाँ राजश्व संकलन भएको थियो।

    संग्रहालय प्रमुख कार्कीले पछिल्लो समय संग्रहालयको व्यवस्थापन, सेवा प्रवाह र प्रचारप्रसारमा सुधार गरिएकाले पर्यटक आगमन निरन्तर बढ्दै गएको बताए।

    “यो अहिलेसम्मकै धेरै राजश्व संकलन भएको वर्ष हो। पर्यटक संख्या पनि हालसम्मकै उच्च रहेको छ,” उनले भने।

    उनका अनुसार संग्रहालय परिसरमा बालबालिकाका लागि खेल्ने पूर्वाधार निर्माण, कार्यालय समयबाहेक बिहान र बेलुकासमेत संग्रहालय खुला राख्ने व्यवस्था तथा आगन्तुकमैत्री सेवा विस्तारले पर्यटक आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

    हाल गोरखा संग्रहालय प्रवेशका लागि नेपाली नागरिकलाई प्रतिव्यक्ति २५ रुपैयाँ, विद्यार्थीलाई १० रुपैयाँ, सार्क राष्ट्रका नागरिकलाई ५० रुपैयाँ र अन्य विदेशी नागरिकलाई १०० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ।

    ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाले समृद्ध गोरखा संग्रहालय पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख आकर्षणको केन्द्र बन्दै गएको छ। पर्यटक आगमनसँगै संग्रहालयले पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुर्‍याउँदै आएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page