logo

मंगलबार, साउन ५ २०८३

kantipurpationlinetv

२०८३ साउन ५ मंगलबार

भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण प्रक्रिया अघि बढाउँदै आँबुखैरेनी गाउँपालिका

भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण प्रक्रिया अघि बढाउँदै आँबुखैरेनी गाउँपालिका


  • मंगलबार, साउन ५ २०८३
  • 2.2K
    SHARES

    तनहुँ — आँबुखैरेनी गाउँपालिकाले भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ। गाउँकार्यपालिकाको साउन १ गते बसेको बैठकले वडा नं. १ देखि ६ सम्मका ३८ परिवारलाई भूमिहीन सुकुम्बासीका रूपमा प्रमाणित गर्दै लालपूर्जा वितरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।

    गाउँपालिकाका अनुसार प्रमाणित भएका ३८ परिवारको विवरण आवश्यक कारबाहीका लागि भूमि समस्या समाधान समिति तनहुँमा पठाइएको छ। समितिबाट कानुनी तथा प्राविधिक प्रक्रिया पूरा भएपछि सम्बन्धित परिवारलाई धनीपुर्जा वितरण गरिने जनाइएको छ।

    लामो समयदेखि भूमिको स्वामित्वबाट वञ्चित रहेका नागरिकलाई कानुनी रूपमा जग्गाको स्वामित्व दिलाउने उद्देश्यले प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ।

    गाउँपालिका अध्यक्ष शुक्र चुमानले भूमिहीन नागरिकलाई सम्पत्ति अधिकार, सम्मानपूर्ण जीवन र सुरक्षित भविष्य सुनिश्चित गर्ने प्रतिबद्धताअनुसार गाउँपालिकाले भूमि व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

    उनका अनुसार ‘भूमिहीनको हातमा धनीपुर्जा, समतामूलक समाजको ऊर्जा’ भन्ने नारालाई आत्मसात गर्दै सबै नागरिकको भूमि अधिकार सुनिश्चित गर्ने, समावेशी विकासलाई प्रवर्द्धन गर्ने र समान अवसर सिर्जना गर्ने अभियानलाई गाउँपालिकाले निरन्तर अघि बढाइरहेको छ।

    भूमि स्वामित्वको अभावका कारण वर्षौंदेखि विभिन्न सरकारी सेवा, वित्तीय पहुँच तथा आर्थिक अवसरबाट वञ्चित नागरिकका लागि लालपूर्जा वितरण प्रक्रिया महत्वपूर्ण उपलब्धि हुने गाउँपालिकाको विश्वास छ।

    गाउँपालिकाले भूमि व्यवस्थापनसँग सम्बन्धित बाँकी प्रक्रियालाई समेत पारदर्शी, प्रभावकारी र समयमै सम्पन्न गर्दै नागरिकको भूमि अधिकार सुनिश्चित गर्ने तथा समृद्ध आँबुखैरेनी निर्माणको अभियानलाई निरन्तरता दिने जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page