काठमाडौं । भागवत् कथावाचिका राधिका दासीले आफू जोडिएको विषयमा निष्पक्ष र पारदर्शी अनुसन्धानको माग गरेकी छन्।
उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको प्रेस वक्तव्यमार्फत आफ्नो व्यक्तिगत प्रतिष्ठा, धार्मिक पहिचान र चरित्रमा असर पर्ने सामग्री सार्वजनिक भएको भन्दै कानुनी प्रक्रियाबाट सत्य स्थापित हुनुपर्ने बताएकी हुन्।
राधिका दासीले आफू कुनै व्यक्ति वा समूहविरुद्ध प्रतिशोधको भावनाले नभई सत्य तथ्य बाहिर ल्याउन र न्याय प्राप्तिको उद्देश्यले अघि बढेको बताएकी छन्।
‘म कुनै राजनीतिक स्वार्थ, कसैसँग प्रतिशोध वा कसैको मानमर्दन गर्ने उद्देश्यले उपस्थित भएकी होइन। म एउटा नेपाली नागरिक, महिला र सनातन हिन्दू धर्ममा आस्था राख्ने साधिकाका रूपमा न्यायको खोजीमा छु,’ उनले वक्तव्यमा उल्लेख गरेकी छन्।
उनले आफू लामो समयदेखि धार्मिक सेवा, आध्यात्मिक साधना र समाजमा सकारात्मक सन्देश फैलाउने कार्यमा सक्रिय रहेको बताउँदै आफ्नो उद्देश्य प्रेम, सहिष्णुता, करुणा र सत्यको मार्गमा अघि बढ्नु रहेको उल्लेख गरेकी छन्।
उनका अनुसार पछिल्लो समय सार्वजनिक भएका केही सामग्रीले आफ्नो व्यक्तिगत जीवन, परिवार, आफन्त, शुभचिन्तक तथा आफूमा आस्था राख्ने श्रद्धालुहरूमा समेत असर परेको छ।
राधिका दासीले अभिव्यक्ति स्वतन्त्रता सबैको अधिकार भए पनि त्यससँग जिम्मेवारी जोडिएको बताएकी छन्। प्रमाणबिना कसैको प्रतिष्ठामा असर पार्ने सामग्री सार्वजनिक गर्नु उचित नभएको उनको भनाइ छ।
उनले नेपालको संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, धार्मिक स्वतन्त्रता र कानुनी संरक्षणमा विश्वास गर्दै सम्बन्धित निकायमा उजुरी दिएको जानकारी दिएकी छन्।
‘न्यायको आधार अनुमान होइन, प्रमाण हुनुपर्छ। यदि कसैले गल्ती गरेको छ भने कानुनअनुसार कारबाही होस् र यदि कसैले गल्ती गरेको छैन भने पनि सत्य सार्वजनिक होस्,’ उनले भनेकी छन्।
राधिका दासीले नेपाल सरकार, गृह मन्त्रालय, नेपाल प्रहरी, साइबर ब्यूरो तथा सम्बन्धित निकायलाई घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गर्न आग्रह गरेकी छन्।
उनले अनुसन्धान प्रक्रियामा कुनै प्रकारको अनुचित प्रभाव परेको भए त्यसबारे समेत आवश्यक छानबिन हुनुपर्ने माग राखेकी छन्।
साथै, उनले साइबर माध्यमबाट हुने मानहानि, चरित्रहत्या र डिजिटल दुर्व्यवहार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न राज्यका निकायलाई आग्रह गरेकी छन्।
सञ्चारमाध्यमलाई जिम्मेवार पत्रकारिताको अभ्यास गर्न आग्रह गर्दै उनले अपुष्ट सूचना र एकपक्षीय सामग्रीले व्यक्तिको प्रतिष्ठामा गम्भीर असर पार्न सक्ने बताएकी छन्।
‘मेरो माग कुनै विशेष सुविधा होइन, सबै नागरिकले पाउने समान न्याय हो,’ उनले वक्तव्यमा उल्लेख गरेकी छन्।
राधिका दासीले आफू कानुनको सम्मान गर्दै शान्तिपूर्ण रूपमा सत्य र न्यायको पक्षमा अघि बढिरहने बताएकी छन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण