logo

बुधबार, साउन २० २०८३

kantipurpationlinetv

२०८३ साउन २० बुधबार

गोरखामा जनस्वास्थ्य कार्यालयको ९९.४ प्रतिशत भौतिक प्रगति, हजारौँ नागरिक स्वास्थ्य सेवाबाट लाभान्वित

गोरखामा जनस्वास्थ्य कार्यालयको ९९.४ प्रतिशत भौतिक प्रगति, हजारौँ नागरिक स्वास्थ्य सेवाबाट लाभान्वित


  • बुधबार, साउन २० २०८३
  • 6K
    SHARES

    गोरखा । जनस्वास्थ्य कार्यालय गोरखाले आर्थिक वर्ष २०८२/८३ मा ९९.४ प्रतिशत भौतिक प्रगति हासिल गर्दै स्वास्थ्य सेवाको पहुँच विस्तार, रोगको समयमै पहिचान तथा जनस्वास्थ्य प्रवर्द्धनका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरेको जनाएको छ। सीमित स्रोतसाधन, आन्दोलन, निर्वाचनलगायत विभिन्न चुनौतीपूर्ण परिस्थितिका बीच कार्यालयले ७७.५ प्रतिशत वित्तीय प्रगति हासिल गर्दै अधिकांश स्वीकृत कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हो।

    कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित ५ करोड ७६ लाख २० हजार रुपैयाँमध्ये ४ करोड ४६ लाख ६० हजार ४६२ रुपैयाँ खर्च भएको छ। विशेष अनुदानतर्फ ९२ प्रतिशत बजेट खर्च भएको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख डा. सिमृन काफ्लेले कार्यालयको टोली तथा गोरखाका ११ वटै स्थानीय तहका स्वास्थ्यकर्मीबीचको समन्वय, प्रतिबद्धता र निरन्तर मेहनतका कारण उल्लेखनीय उपलब्धि हासिल भएको बताइन्।

    कार्यालयले आर्थिक वर्षभर पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पाठेघर खस्ने समस्या, प्रसूति फिस्टुला, उच्च रक्तचाप, मधुमेह, मोटोपना, दीर्घकालीन श्वासप्रश्वास रोग, मानसिक स्वास्थ्य तथा क्षयरोगलगायतका नसर्ने रोगको परीक्षणलाई प्राथमिकतामा राख्दै हजारौँ नागरिकलाई सेवा प्रदान गरेको जनाएको छ। भीआईए विधिमार्फत ११९ महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गर्दा सात जनामा प्रारम्भिक संकेत देखिएपछि उनीहरूलाई तत्काल उपचार सेवामा जोडिएको छ। यस्तै, १७४ महिलाको स्तन क्यान्सर, पाठेघर खस्ने समस्या तथा प्रसूति फिस्टुलासम्बन्धी परीक्षण गरी आवश्यक परेकालाई थप उपचारका लागि रिफर गरिएको छ।

    नसर्ने रोगको स्क्रिनिङ कार्यक्रममार्फत १,१६१ जनाको रक्तचाप परीक्षण गर्दा १८५ जनामा उच्च रक्तचाप, १,१७१ जनाको मधुमेह परीक्षणमा ६९ जनामा मधुमेह, १,३३५ जनाको मोटोपना परीक्षणमा ८६ जना मोटोपनाबाट प्रभावित तथा १,१२४ जनाको दीर्घकालीन श्वासप्रश्वास रोग परीक्षणमा १५२ जनामा समस्या पहिचान भएको कार्यालयले जनाएको छ। मानसिक स्वास्थ्य परीक्षणका क्रममा १,५८१ जनामध्ये ११९ जनामा तनाव तथा १,५८३ जनामध्ये १२३ जनामा डिप्रेसनका लक्षण देखिएको कार्यालयको तथ्यांक छ। पहिचान भएका सबैलाई आवश्यक परामर्श, उपचार तथा थप सेवाका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाइएको छ।

    क्षयरोग नियन्त्रणतर्फ कार्यालयले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित एक्स–रे प्रविधि प्रयोग गरी १ हजार ६१६ जनाको छाती परीक्षण गरेको थियो। परीक्षणका क्रममा शंकास्पद देखिएका बिरामीमध्ये २४ जनामा क्षयरोग पुष्टि भएपछि उपचार सुरु गरिएको कार्यालयले जनाएको छ।

    बाल तथा पोषण स्वास्थ्य कार्यक्रमअन्तर्गत जिल्लाभर १२ हजार ७८९ बालबालिकाको पोषण अवस्था परीक्षण गरिएकोमा ५६ जना गम्भीर कुपोषित बालबालिका पहिचान गरी उपचारमा ल्याइएको छ। त्यस्तै ९८० बालबालिकाको बाथ मुटुरोग स्क्रिनिङ गर्दा चार जनामा बाथ मुटुरोग र तीन जनामा जन्मजात मुटुरोग पहिचान भई शल्यक्रियाका लागि रिफर गरिएको छ।

    नियमित खोप सेवा, कोल्ड चेन व्यवस्थापन तथा छुटेका बालबालिकाको खोजी अभियान प्रभावकारी रूपमा सञ्चालन भएपछि गोरखा जिल्ला गत असार २२ गते ‘पूर्ण खोप सुनिश्चित जिल्ला’ घोषणा भएको छ। विद्यालय स्वास्थ्य कार्यक्रमअन्तर्गत ११४ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई अभिमुखीकरण प्रदान गरिएको छ भने मापदण्ड पूरा गरेका नौ विद्यालयलाई स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालयका रूपमा प्रमाणीकरण गरिएको कार्यालयले जनाएको छ। साथै, किशोरकिशोरी स्वास्थ्य, सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य, महिनावारी व्यवस्थापन तथा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम पनि जिल्लाभर सञ्चालन गरिएको छ।

    खानेपानीको गुणस्तर परीक्षणका क्रममा भने चिन्ताजनक अवस्था देखिएको छ। कार्यालयका अनुसार परीक्षण गरिएका २२५ नमुनामध्ये १७६ अर्थात् ७८.२२ प्रतिशत नमुनामा ई–कोलाई जीवाणु भेटिएको छ। विशेषगरी शहीद लखन र सिरानचोक गाउँपालिकाका परीक्षण गरिएका सबै नमुनामा जीवाणु भेटिएपछि सुरक्षित खानेपानी सुनिश्चित गर्न स्थानीय तहसँग समन्वय गरी नियमित परीक्षण र जनचेतनामूलक कार्यक्रमलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ।

    कार्यालय प्रमुख डा. काफ्लेले आगामी दिनमा स्थानीय, प्रदेश र संघीय सरकारबीचको समन्वयलाई अझ प्रभावकारी बनाउँदै तथ्यमा आधारित, उत्तरदायी र जनमुखी जनस्वास्थ्य प्रणाली विकास गर्न कार्यालय प्रतिबद्ध रहेको बताइन्। उनले रोगको समयमै पहिचान, रोकथाम तथा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तारलाई आगामी कार्यक्रमको मुख्य प्राथमिकतामा राखिने उल्लेख गरिन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page