logo

शुक्रबार, साउन २९ २०८३

kantipurpationlinetv

२०८३ साउन २९ शुक्रबार

पर्यटन विकासमा एकजुट हुन सभामुख अर्यालको आग्रह, ‘व्यावसायिक संस्थामा राजनीति नगरौँ’

पर्यटन विकासमा एकजुट हुन सभामुख अर्यालको आग्रह, ‘व्यावसायिक संस्थामा राजनीति नगरौँ’


  • शुक्रबार, साउन २९ २०८३
  • 1.2K
    SHARES

    काठमाडौं । सभामुख डोलप्रसाद अर्याल (डीपी)ले व्यावसायिक तथा पेशागत संस्थालाई राजनीतिक विवाद र स्वार्थबाट टाढा राख्दै सम्बन्धित क्षेत्रको विकास र प्रवर्द्धनमा केन्द्रित हुनुपर्ने बताएका छन्।

    नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९औँ साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले पर्यटन व्यवसायको विकासका लागि निजी क्षेत्र, सरकार र सरोकारवाला सबैबीच सहकार्य आवश्यक रहेको बताएका हुन्।

    ‘यो व्यावसायिक संस्था हो, यसमा राजनीति नगरौँ। पर्यटन क्षेत्रको विकास, व्यवसायको प्रवर्द्धन र व्यावसायिक हितका विषयमा केन्द्रित भएर अघि बढौँ,’ उनले भने।

    सभामुख अर्यालले पर्यटकका लागि पहिलो प्राथमिकता सुरक्षा रहेको उल्लेख गर्दै हवाईजहाज, ट्याक्सी, होटललगायत पर्यटन सेवाका हरेक क्षेत्रमा सुरक्षित र विश्वसनीय वातावरण निर्माण गर्नुपर्ने बताए। त्यसपछि पर्यटकलाई आकर्षित गर्ने विषय सेवा, व्यवहार र सुविधाको गुणस्तर भएको उनको भनाइ छ।

    उनले काठमाडौं उपत्यकामा व्यवस्थित पर्यटक बसपार्कको आवश्यकता औँल्याउँदै उपलब्ध संरचनाको प्रभावकारी उपयोग गर्नुपर्ने बताए। पर्यटनसम्बन्धी प्रस्तावित कानुन निर्माण गर्दा आगामी ५० वर्षलाई दृष्टिगत गरी दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्नेमा समेत उनले जोड दिए।

    नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी र प्रभावकारी बनाउन संरचनागत सुधार आवश्यक रहेको बताउँदै सभामुख अर्यालले भने, ‘नेपाल एयरलाइन्स बन्छ, तर अहिलेकै संरचनाले बन्दैन।’

    विश्वका विभिन्न वायुसेवा कम्पनी नेपालसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने बताए।

    त्यस्तै, नेपाली र विदेशी पर्यटकबीच सेवामा विभेद गर्न नहुनेमा पनि उनले जोड दिए। पर्यटन व्यवसायमा समान व्यवहार र गुणस्तरीय सेवा सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।

    सभामुख अर्यालले पछिल्लो निर्वाचनबाट जनताले सरकारलाई स्पष्ट जिम्मेवारी दिएको उल्लेख गर्दै अब सरकारसँग असफल हुने छुट नरहेको बताए।

    ‘मुलुक समृद्ध हुनैपर्छ। सुशासन कायम गर्दै भ्रष्टाचारलाई जरैदेखि उखेल्नुपर्छ,’ उनले भने।

    उनले पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकास गर्न सबै पक्ष जिम्मेवार र एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page