काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिले आयोजना गरेको “९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड–२०८३” मा टप दरबार रोधी क्लबका सञ्चालक अशोक गिरीलाई ‘उत्कृष्ट दोहोरी साँझ व्यवसायी सम्मान–२०८३’ प्रदान गरिएको छ ।
नेपाली लोकगीत तथा दोहोरीको संरक्षण, संवर्द्धन र प्रवर्द्धनसँगै कलाकारलाई रोजगारीको अवसर प्रदान गर्दै लोकदोहोरी क्षेत्रको व्यावसायिक विकासमा पुर्याएको योगदानको कदरस्वरूप गिरीलाई उक्त सम्मान प्रदान गरिएको हो ।
‘अग्रजलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन’ भन्ने मूल नारासहित आयोजित समारोह काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली लोकदोहोरी क्षेत्रका अग्रज कलाकार, स्रष्टा, गायक–गायिका, संगीतकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–८ मा पिता जीतबहादुर गिरी र माता टीकाकुमारी गिरीको कोखबाट वि.सं. २०४० वैशाख १ गते जन्मिएका अशोक गिरीले वि.सं. २०६० सालदेखि औपचारिक रूपमा लोकगीत–संगीत क्षेत्रमा प्रवेश गरेका हुन् ।
लोकगीत–संगीतको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सक्रिय गिरीले कलाकारलाई रोजगारी तथा सिर्जनात्मक अवसर उपलब्ध गराउने उद्देश्यसहित लामो समयदेखि दोहोरी साँझ व्यवसाय सञ्चालन गर्दै आएका छन् । यस क्रममा उनले विभिन्न कलाकारको सुख–दुःखमा साथ र सहयोग गर्दै उनीहरूको व्यावसायिक यात्रामा समेत योगदान पुर्याउँदै आएका छन् ।
विभिन्न चुनौतीका बीच पनि लोकदोहोरी क्षेत्रमै निरन्तर सक्रिय रहँदै आएका गिरीले टप दरबार रोदी क्लबलाई पारिवारिक वातावरणमा सञ्चालन गर्दै आएका छन् । रोधी क्लबमार्फत कलाकारलाई रोजगारीको अवसर प्रदान गर्नुका साथै नेपाली मौलिक लोकदोहोरी गीत, संगीत र कलाकारको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा पुर्याएको योगदानको मूल्यांकन गर्दै प्रतिष्ठानले उनलाई सम्मान गरेको हो ।
सम्मानपत्रमा गिरीको योगदानको उच्च सम्मान गर्दै आगामी दिनमा थप व्यावसायिक सफलता, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको छ ।
“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड–२०८३” राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिका अध्यक्ष प्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपति ब्रजेश खनाल प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
अवार्ड समारोहमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट प्रतिष्ठानका पूर्वकेन्द्रीय अध्यक्ष एवं वरिष्ठ गायक प्रजापती पराजुली, सदाबहार लोकगीत विधामा ज्ञानु राणा, संस्थागत सम्मानबाट चन्द्र शर्मा, दशकका स्रष्टा सम्मानबाट देवी घर्ती मगर, देशप्रेमी गीत विधामा प्रकाश सपुत, लोक पत्रकारिता सम्मानबाट कमल सरगम तथा कलाकार सम्मानबाट घनश्याम रिजाललगायत विभिन्न विधाका स्रष्टा तथा कलाकार सम्मानित भएका थिए ।

-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
प्रहरी कर्मचारीले वाणिज्य बैंकबाट सहुलियत ब्याजदरमा ५० लाखसम्म कर्जा पाउने
-
टप दरबार रोधी क्लबको भव्य उद्घाटन, चर्चित कलाकारको प्रस्तुतिमा झुमे अतिथिहरू
-
सचिन भट्टराईको नयाँ तीज गीत ‘मलाई नेपाल बस्नै मन थिएन, एम्बेसीले भिसा दिएन’ को छायांकन सम्पन्न
-
चर्चित गायिका शान्ति श्री परियार र गोविन्द पौडेलको ‘मेरी माया नाचिदेउ छम छम’ सार्वजनिक