काठमाडौं: चर्चित गायक तथा सर्जक प्रकाश कटुवालले कलाकारितासँगै सक्रिय राजनीतिमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछापबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गर्दै कटुवालले देश परिवर्तन र पार्टी संगठनलाई थप सुदृढ बनाउन आफू राजनीतिमा आएको बताएका छन्।
उमाकुण्ड गाउँपालिका–३ का क्षेत्रीय प्रतिनिधिसमेत रहेका कटुवालले रामेछापका पार्टी नेता, अग्रज, युवा तथा महाधिवेशन प्रतिनिधिसँग आफ्नो उम्मेदवारीका लागि सहयोग, समर्थन र अमूल्य मतको अपिल गरेका छन्।
कलाकारितामार्फत आफ्नो छुट्टै पहिचान बनाएका कटुवालले अब सामाजिक तथा राजनीतिक भूमिकालाई पनि सँगसँगै अघि बढाउने बताएका छन्। देश र समाजमा सकारात्मक परिवर्तनका लागि आफूले पनि राजनीतिक माध्यमबाट योगदान गर्नुपर्ने निष्कर्षसहित कांग्रेसको राजनीतिमा सक्रिय भएको उनको भनाइ छ।
उम्मेदवारी घोषणा गर्दै कटुवालले आफू पद प्राप्तिका लागि मात्र नभई पार्टी संगठन निर्माण र कार्यकर्ताको आवाज नेतृत्व तहसम्म पुर्याउने उद्देश्यले अघि बढेको बताएका छन्। स्थानीय तहदेखि जिल्लासम्म कांग्रेसको संगठनलाई थप मजबुत बनाउने तथा युवा पुस्तालाई पार्टीको मूलधारमा जोड्ने विषयलाई उनले आफ्नो प्राथमिकतामा राखेका छन्।
‘कलाकारिताबाट जनताको मन जित्दै आएको छु। अब राजनीतिक माध्यमबाट देश र समाजका लागि योगदान गर्ने उद्देश्यले अघि बढेको हुँ,’ कटुवालले भने, ‘पार्टीका अग्रज, युवा साथी तथा सम्पूर्ण महाधिवेशन प्रतिनिधिको विश्वास र सहयोगले मेरो राजनीतिक यात्रालाई थप ऊर्जा मिल्नेछ।’
उनले आफू निर्वाचित भए पार्टी संगठनलाई थप चलायमान बनाउने, कार्यकर्ताका समस्या तथा अपेक्षालाई नेतृत्वसमक्ष पुर्याउने र युवाको सहभागिता बढाउन सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला रामेछापमा पनि विभिन्न पदका आकांक्षीहरूले आफ्नो दाबी सार्वजनिक गर्न थालेका छन्। कांग्रेसको विधानअनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ।
यही क्रममा सांगीतिक क्षेत्रमा परिचित कटुवालले महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गरेपछि उनको राजनीतिक प्रवेशलाई रामेछाप कांग्रेसभित्र चासोका साथ हेरिएको छ।
कटुवालले रामेछापका सम्पूर्ण महाधिवेशन प्रतिनिधिसँग आफूलाई विश्वास गरेर सहयोग तथा अमूल्य मत प्रदान गर्न आग्रह गरेका छन्। पार्टी संगठनलाई थप सुदृढ बनाउँदै कार्यकर्ताको भावना र अपेक्षालाई नेतृत्व तहसम्म पुर्याउने आफ्नो प्रतिबद्धता रहेको उनले बताएका छन्।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
जेनजी आन्दोलनको एक वर्ष : उतारचढाव, स्थिरता र समृद्धिको नयाँ बाटो
-
दोहोरी गीत प्रतिष्ठान उपत्यका समितिद्वारा संगीत प्रशिक्षण कक्षा शुभारम्भ
-
भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कमा दीप प्रज्वलन