logo

बुधबार, कार्तिक १२ २०८३

kantipurpationlinetv

२०८३ कार्तिक १२ बुधबार

मर्स्याङ्दीमा आठौँ मर्स्याङ्दी कप सुरु, पहिलो दिन ९०० विद्यार्थी सहभागी

मर्स्याङ्दीमा आठौँ मर्स्याङ्दी कप सुरु, पहिलो दिन ९०० विद्यार्थी सहभागी


  • बुधबार, कार्तिक १२ २०८३
  • 28
    SHARES

    लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा आठौँ मर्स्याङ्दी कप–२०८३ सुरु भएको छ। गाउँपालिकाको आयोजनामा बुधबार ङादी खेलमैदानमा अन्तरविद्यालयस्तरीय विभिन्न खेलकुद प्रतियोगितासहित कपको उद्घाटन गरिएको हो।

    युवा तथा खेलकुद विकास समिति, मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष खेम घलेको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको थियो। प्रतियोगिताअन्तर्गत विभिन्न ३६ विधामा अन्तरविद्यालयस्तरीय खेलकुद प्रतिस्पर्धा सञ्चालन भइरहेका छन्। उद्घाटनको पहिलो दिन प्राथमिक तहका छात्रछात्राबीच गणित दौड (म्याथ रनिङ कम्पिटिसन), लङजम्पलगायतका खेल सम्पन्न भएका छन् भने फुटबल प्रतियोगितासमेत सुरु भएको आयोजकले जनाएको छ।

    प्रतियोगिताको पहिलो दिन करिब ९०० विद्यार्थीको सहभागिता रहेको थियो। विद्यार्थीमा अन्तर्निहित प्रतिभा पहिचान तथा प्रस्फुटन गर्ने, खेलकौशल विकास गर्ने र अनुशासन, आपसी सद्भाव तथा स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। ‘खेल खेलाडीका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने नारासहित सञ्चालन भइरहेको प्रतियोगिताको सहजीकरण युवा तथा खेलकुद विकास समितिका सचिव पूर्णबहादुर गुरुङले गरेका थिए।

    कला तथा संस्कृतिको संरक्षणसँगै कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आएको गाउँपालिकाले खेलकुद क्षेत्रको विकासलाई समेत महत्त्व दिएको छ। मर्स्याङ्दी कपले विद्यालयस्तरबाटै खेल प्रतिभाको पहिचान र विकास गर्न तथा विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page