काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड ९०औँ वर्षमा प्रवेश गरेको छ। वि.सं. १९९४ कात्तिक ३० गते स्थापना भएको बैंकले आजदेखि आफ्नो संस्थागत यात्राको ९०औँ वर्ष सुरु गरेको हो।
स्थापनाका बेला ८ लाख ४२ हजार रुपैयाँ चुक्ता पुँजीबाट कारोबार सुरु गरेको बैंकको चुक्ता पुँजी अहिले १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ पुगेको छ। बैंकको कुल नेटवर्थ ४२ अर्ब २७ करोड रुपैयाँ पुगेको पछिल्लो वित्तीय विवरणमा उल्लेख छ।
नेपालमा बैंकिङ सेवा सीमित रहेको र सर्वसाधारणमा बचत गर्ने संस्कृतिको विकास भइनसकेको अवस्थामा १० जना लगानीकर्ताको पहलमा सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुसार नेपाल बैंक स्थापना गरिएको थियो।
स्थापनाकालदेखि नै बैंकले सर्वसाधारणलाई बैंकिङ सेवाको पहुँचमा पुर्याउनुका साथै उद्योग, व्यापार तथा व्यवसायलाई वित्तीय सहयोग गर्दै आएको छ। नेपाल राष्ट्र बैंक स्थापना हुनुअघि नेपाल बैंकले केन्द्रीय बैंकको समेत भूमिका निर्वाह गरेको थियो।
वि.सं. २००२ मा नेपाल सरकारले पहिलोपटक कागजी मुद्रा निष्कासन गर्दा पनि नेपाल बैंकले महत्वपूर्ण भूमिका खेलेको थियो। त्यसबेला वित्तीय कारोबार व्यवस्थित गर्ने, मुद्राको प्रयोग विस्तार गर्ने र बैंकिङ प्रणालीप्रति सर्वसाधारणको विश्वास बढाउने काममा बैंक संलग्न थियो।
नेपाल राष्ट्र बैंक स्थापना भएपछि केन्द्रीय बैंकको जिम्मेवारी अलग भए पनि नेपाल बैंकले वाणिज्य बैंकका रूपमा सेवा विस्तारलाई निरन्तरता दिँदै आएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले स्थापना कालदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल बैंक बैंकिङ क्षेत्रको पर्यायका रूपमा स्थापित भएको बताएका छन्। देशको आर्थिक तथा सामाजिक विकासमा बैंकले महत्वपूर्ण योगदान पुर्याउँदै आएको उनको भनाइ छ।
निक्षेप ४ खर्ब १६ अर्ब, कर्जा २ खर्ब ६२ अर्ब
नेपाल बैंकको कुल निक्षेप ४ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकले २ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको जगेडा कोषमा २७ अर्ब ५७ करोड रुपैयाँ रहेको छ। पूँजी पर्याप्तता अनुपात १३.६६ प्रतिशत र निष्क्रिय कर्जा अनुपात ४.१८ प्रतिशत रहेको बैंकले जनाएको छ। त्यस्तै, कर्जा–निक्षेप अनुपात ६२.८५ प्रतिशत छ।
बैंकका ग्राहकको संख्या करिब २९ लाख २४ हजार पुगेको छ। बालबालिकादेखि युवापुस्ता, व्यवसायी, रोजगारीमा रहेका व्यक्ति तथा ज्येष्ठ नागरिकसम्म बैंकका सेवाग्राही छन्।
२३० शाखा, मोबाइल बैंकिङ प्रयोगकर्ता १० लाख
नेपाल बैंकले देशभर २३० वटा शाखा र ५७ वटा विस्तारित काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ। त्यस्तै, ग्राहकको सुविधाका लागि २५० वटा एटीएम सञ्चालनमा छन्।
बैंकमा बाह्य स्रोतबाट सेवा लिइएका कर्मचारीसमेत गरी करिब ३ हजार ६०० कर्मचारी कार्यरत छन्।
पछिल्लो समय डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकको मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकको संख्या १० लाख पुगेको छ।
मोबाइल बैंकिङ तथा एटीएम सेवाको विस्तारसँगै ग्राहकले शाखामा उपस्थित नभई विभिन्न बैंकिङ कारोबार गर्न सक्ने सुविधा पाएका छन्। यसले बैंकिङ सेवालाई थप सहज र पहुँचयोग्य बनाएको बैंकको भनाइ छ।
९० वर्षको यात्रामा नेपाल बैंकले नेपालको आधुनिक बैंकिङ प्रणालीको विकासदेखि वित्तीय पहुँच विस्तारसम्म महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
-
काग तिहारको एकाबिहानै कलाकार रमेश दुलालले दरबारमार्गमा यसरी बोलाए सयौँ काग