काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको पहिलो पाक्षिकका बम्पर उपहार विजेता हेमराज जोशी र एक लाख रुपैयाँका विजेता हिमाल अर्याललाई पुरस्कार रकम हस्तान्तरण गरेका छन्।
सोमबार अर्थ मन्त्रालयमा आयोजित साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रममा अर्थमन्त्री वाग्लेले दुवै विजेतालाई पुरस्कार रकम हस्तान्तरण गरेका हुन्।
साउन महिनाको पहिलो पाक्षिकअन्तर्गत धनगढीका हेमराज जोशीले १० लाख रुपैयाँको बम्पर उपहार जितेका थिए। उनले २५० रुपैयाँमा विद्युतीय बल्ब खरिद गर्दा प्राप्त बिलमार्फत उक्त बम्पर पुरस्कार हात पारेका हुन्।
अर्थमन्त्री वाग्लेले जोशीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै सरकारको करदाता प्रोत्साहन कार्यक्रमको ‘दूत’ बन्न आग्रह गरे। उनले कर तिर्ने संस्कृतिको विकासका लागि ‘बिल दिनुपर्छ र लिनुपर्छ’ भन्ने सन्देश समाजमा फैलाउनसमेत आग्रह गरे।
“हेमराजजी, बधाई छ। तपाईं पहिलो बम्पर उपहार विजेता हुनुहुन्छ। तपाईं सरकारको यो कार्यक्रमको दूत बन्नुहोस्, सरकारले अघि बढाएको ‘बिल दिनुपर्छ र लिनुपर्छ’ भन्ने कुरा समाजमा फैलाउनुहोस्,” अर्थमन्त्री वाग्लेले भने।
यसैगरी, नवलपरासीको गैँडाकोटका हिमाल अर्यालले १ लाख ३३ हजार ३३४ रुपैयाँको पुरस्कार जितेका छन्। साथीहरूसँग आइसक्रिम खाँदा गरेको कारोबारको बिलमार्फत उनले उक्त पुरस्कार जितेका हुन्। पुरस्कार रकमबाट २५ प्रतिशत कर कट्टी भएपछि अर्यालले १ लाख रुपैयाँ नगद प्राप्त गरेका छन्।
विभागका अनुसार साउन महिनाको पहिलो पाक्षिकका अन्य विजेतालाई पनि यसै साता सम्बन्धित आन्तरिक राजस्व कार्यालयमार्फत नगद पुरस्कार प्रदान गरिनेछ।
सरकारले करदाता प्रोत्साहन कार्यक्रममार्फत उपभोक्तालाई प्रत्येक कारोबारमा बिल लिन र व्यवसायीलाई अनिवार्य रूपमा बिल जारी गर्न प्रोत्साहित गर्दै कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्य लिएको छ।
-
कलाकारितापछि राजनीतिमा प्रकाश कटुवाल, कांग्रेस महाधिवेशन प्रतिनिधिमा भिड्दै
-
९औँ राष्ट्रिय लोकदोहोरी अवार्डलाई सहयोग गर्नेलाई सम्मान, संगीत र प्रविधिबारे अन्तरक्रिया
-
मुग्लिङ बजारमा गीत विमोचनसँगै कलाकार तथा सञ्चारकर्मीहरु सम्मानित
-
भदौ महिनाको उत्कृष्ट प्रहरी बने प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारी
-
मौसम सुधार नभएसम्म यात्रा नगर्न प्रधानमन्त्रीको आग्रह