logo

शनिबार, साउन ३० २०८३

kantipurpationlinetv

२०८३ साउन ३० शनिबार

नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री वाग्लेको आग्रह

नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री वाग्लेको आग्रह


  • आइतबार, साउन ३१ २०८३
  • 49
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्।

    चीनको ग्वाङझाउ सहरमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत शुभकामना दिँदै अर्थमन्त्री वाग्लेले नेपालमा लगानीको वातावरण निर्माण गर्न सरकारले नीतिगत सुधार अघि बढाइरहेको बताएका हुन्।

    सरकारले लगानीको वातावरण बनाउने, देशमै रोजगारी सिर्जना गर्ने तथा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिको क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीति तथा रणनीति कार्यान्वयन गरिरहेको उनले बताए।

    ‘प्रवासी साथीहरू, अब नेपाल आएर ढुक्कसँग नेपालमा लगानी गर्नुहोस्,’ अर्थमन्त्री वाग्लेले भने, ‘पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि र आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी गर्नुहोस्।’

    सरकारले नतिजा देखिने गरी तीव्र गतिमा काम गरिरहेको दाबी गर्दै उनले बजेटमार्फत २७ वटा नयाँ कानुन ल्याएर लगानीमैत्री वातावरण निर्माणमा काम भइरहेको बताए। सम्मानजनक रोजगारी सिर्जनालाई सरकारले विशेष प्राथमिकतामा राखेको उनको भनाइ छ।

    सरकारको आम्दानी बढाउन कर प्रणालीमा समेत सुधार गरिएको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले आर्थिक सुधारको सुरुआत भएको बताए।

    ‘पहिलो वर्ष सुधारको सुरुआत गर्‍यौँ, दोस्रो वर्ष अझ फराकिलो सुधारको काम अघि बढ्नेछ। तेस्रो र चौथो वर्ष सुधारको नतिजा देखिनेछ। चौथो र पाँचौँ वर्षमा यसको प्रतिफल जनताले पाउनेछन्,’ उनले भने।

    यी लक्ष्य पूरा गर्न आन्तरिक स्रोत महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले बाह्य लगानीका स्रोत चुनौतीपूर्ण अवस्थामा रहेका बेला प्रवासी नेपालीको पुँजी, ज्ञान र सीप नेपालका लागि आवश्यक रहेको बताए।

    प्रवासी नेपालीको पुँजी र लगानी परिचालन गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताउँदै उनले डायस्पोराको लगानी र ज्ञान नेपाल भित्र्याउने नीति लिइएको जानकारी दिए।

    उनका अनुसार केही दिनअघि मात्रै धितोपत्र बाँडफाँड तथा निष्काशन नियमावली संशोधन गरी नेपाल सरकार र एनआरएन इन्भेस्टमेन्ट फन्डबाट जारी हुने सेयरको हिस्सा ८५ प्रतिशत पुर्‍याइएको छ।

    ‘आउनुहोस्, ढुक्क भएर लगानी गर्नुहोस्। आफ्नो ज्ञान र सीपलाई यहाँ प्रयोग गर्नुहोस्,’ अर्थमन्त्री वाग्लेले प्रवासी नेपालीलाई आग्रह गरे।

    सरकारले रुग्ण उद्योगलाई पुनः सञ्चालनमा ल्याउने तयारी गरिरहेको जानकारी दिँदै उनले ती उद्योगको पुनर्ताजगी र सञ्चालनमा दक्षता, सीप तथा ज्ञान भएका प्रवासी नेपालीले समेत सहभागिता जनाउन सक्ने बताए।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page