पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इङ्ल्यान्ड (प्याब्फोन)को आयोजनामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ ‘बोस्टन सप्ताह ज्ञान महायज्ञ–२०२६’ सुरु भएको छ । अगस्ट १६ देखि सुरु भएको महायज्ञको पहिलो दिन धार्मिक विधिअनुसार पूजापाठ तथा कलश यात्रा गरिएको छ ।
महायज्ञ हुने पशुपतिनाथ तथा बुद्ध मन्दिरमा बिहान ८ बजेदेखि पण्डितहरूद्वारा नियमित पूजापाठसहित पूर्वाङ्ग गरिएको थियो । दिउँसो ब्रेनट्री टाउन हलदेखि मन्दिर परिसरसम्म करिब ०.६ माइल दूरीमा कलश यात्रा निकालिएको थियो ।
आयोजकका अनुसार ३०८ कलशसहितको कलश यात्रामा करिब १ हजार ५ सय भक्तजन सहभागी थिए । न्यू इङ्ल्यान्ड क्षेत्रमा सक्रिय विभिन्न प्रवासी नेपाली संघसंस्थाले संस्थागत ब्यानरसहित यात्रामा सहभागिता जनाएका थिए ।
कलश यात्रा सुरु गर्नुअघि पण्डितहरूले धार्मिक विधिअनुसार पूजापाठ तथा स्वस्तिवाचन गरेका थिए । महायज्ञका प्रमुख कथावाचक पण्डित दीनबन्धु पोखरेल, उनकी धर्मपत्नी यशोधा नेपाल पोखरेल तथा बौद्ध धर्मगुरु भान्टेलगायतको उपस्थितिमा यात्रा गरिएको थियो ।
पञ्चकन्याको अगुवाइमा भएको यात्रामा नेपाली मौलिक पहिरनमा सजिएका महिला भक्तजनले पूजिएका कलश शिरमा बोकेर सहभागिता जनाएका थिए । यात्रामा महायज्ञसँग सम्बन्धित धार्मिक ग्रन्थ तथा पुस्तकसमेत समावेश गरिएको थियो ।
भक्तजनले भजन–कीर्तन गर्दै इष्टदेवताको जयजयकार गरेका थिए । पञ्चेबाजा र नेवारी बाजाको धुनसँगै सहभागीले नाच्दै–गाउँदै हर्षोल्लास व्यक्त गरेका थिए । नेपाली धर्म, संस्कृति, परम्परा र पहिचान झल्काउने सहभागिताका कारण कलश यात्रा क्षेत्र उत्सवमय बनेको थियो ।
मन्दिरको परिक्रमा गरी परिसरमा प्रवेश गरेपछि कलश यात्रा सम्पन्न भएको थियो । त्यसपछि महायज्ञस्थलमा औपचारिक उद्घाटन कार्यक्रम गरिएको थियो ।
कलश यात्रा उपसमितिकी संयोजक रुक्मिणी कार्कीले यात्रा उत्साहजनक रूपमा सम्पन्न भएको बताइन् । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने भक्तजन, संघसंस्था तथा सबै सहयोगीप्रति आभार व्यक्त गरिन् ।
प्रवासी नेपाली समुदायलाई धार्मिक तथा सांस्कृतिक रूपमा जोड्दै नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको आयोजकले जनाएको छ ।



-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
ककनी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बिदा भए, तीन वर्षे कार्यकालको योगदानको प्रशंसा
-
जन्मदिनमा फजुल खर्च कटाएर मानव सेवा आश्रमका वृद्धवृद्धालाई भोजन गराइन् गायिका मधु रसाइलीले
-
गोरखाली गायक पारस राज अधिकारीको नयाँ तीज गीत ‘मुस्काउँदा मुसुक्क’ सार्वजनिक
-
विद्यार्थीमा डिजिटल सीप विकास गर्न लुईटेलमा आईसीटी तथा एआई बुटक्याम्प सुरु