काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्ध तथा सुरक्षा सहकार्यका विषयमा छलफल भएको छ । भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए ।
प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका हुन् । भ्रमणका क्रममा उनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए ।
सोही अवसरमा राष्ट्रपति पौडेलले सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए । नेपाल र भारतबीच सन् १९५० देखि दुवै देशका सेना प्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा रहँदै आएको छ ।
यसअघि सोमबार नै प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्ता भएको थियो । भेटमा दुई देशबीचको सैन्य सहकार्य, आपसी हित तथा सुरक्षा सम्बन्धका विषयमा छलफल भएको थियो ।
भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमणलाई नेपाल–भारतबीचको परम्परागत सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय सुरक्षा सहकार्यका विषयमा संवाद अघि बढाउने अवसरका रूपमा हेरिएको छ ।