तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालले चार वर्षको अवधिमै स्वास्थ्य सेवा विस्तारमा उल्लेखनीय प्रगति गरेको छ। डायलाइसिसदेखि शल्यक्रियासम्मका सेवा स्थानीय तहमै उपलब्ध गराउन थालेपछि अस्पताल गाउँपालिकाका नागरिकका लागि उपचारको महत्वपूर्ण केन्द्र बन्दै गएको छ।
अस्पतालमा हाल आकस्मिक, बहिरङ्ग (ओपीडी), वार्ड, दन्त उपचार, डायलाइसिस, शल्यक्रिया, प्रयोगशाला, फिजियोथेरापी, भिडियो एक्स–रे, फार्मेसी तथा रक्तसञ्चारलगायतका सेवा सञ्चालनमा छन्। यसअघि सामान्य उपचारका लागि समेत दमौली, पोखरा वा अन्य सहर पुग्नुपर्ने स्थानीयले अहिले आफ्नै ठाउँमा विभिन्न स्वास्थ्य सेवा लिन पाएका छन्।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले स्थानीय नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखिएको बताए। चार वर्षको छोटो अवधिमै डायलाइसिस र शल्यक्रियाजस्ता सेवा सञ्चालनमा ल्याउनु गाउँपालिकाका लागि महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ।
‘स्थानीय नागरिकलाई आफ्नै ठाउँमा सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको विकास र सेवा विस्तारलाई प्राथमिकतामा राखेका छौँ,’ अध्यक्ष चुमानले भने, ‘अस्पताललाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउँदै आगामी दिनमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने योजना छ।’
स्थानीय तहको लगानी र व्यवस्थापनमा सञ्चालित अस्पतालले छोटो समयमै सेवा विस्तार गर्नु स्थानीय स्वास्थ्य सेवाका दृष्टिले महत्वपूर्ण उपलब्धि मानिएको छ। यद्यपि, विस्तारित सेवाको गुणस्तर कायम राख्न दक्ष जनशक्तिको निरन्तरता, आवश्यक उपकरण र पूर्वाधार व्यवस्थापन तथा नियमित सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने चुनौती पनि छन्।
अस्पतालको सेवा थप प्रभावकारी बनाउन जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, विभिन्न संघसंस्था र सहयोगीहरूको निरन्तर साथ आवश्यक रहेको गाउँपालिकाले जनाएको छ। सेवा विस्तारसँगै गुणस्तरीय उपचारको सुनिश्चितता गर्न सके आँबुखैरेनी अस्पताल स्थानीयस्तरमै भरपर्दो स्वास्थ्य सेवाको नमुना बन्न सक्नेछ।
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
चौथो खेली रोईला दोहोरी प्रतियोगितामा सरोज सिम्खडा प्रथम
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न