काठमाडौं, नेपाल — नेपाली सिनेमामा चर्चित नायक पल शाह अभिनीत नयाँ फिल्म ‘मोहर’ आजदेखि देशभर प्रदर्शनमा आएको छ। फिल्म मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्मले रिलिजको पहिलो दिनमै दर्शकको मन जित्न सफल भएको छ।
फिल्मले बिहानैदेखि औसत अकुपेन्सीमा प्रदर्शन सुरु गरे पनि शक्तिशाली वर्ड अफ माउथका कारण हलमा दर्शकको चाप बढ्ने देखिएको छ। वितरक करण श्रेष्ठ भन्छन्, “फिल्मको कथा, प्रस्तुतिप्रति दर्शक सकारात्मक छन्। अब व्यापार बढ्नेमा हामी विश्वस्त छौं।”
फिल्ममा पल शाहको अभिनयलाई दर्शकले विशेषगरी प्रशंसा गरेका छन्। उनी यस फिल्ममा गम्भीर र भावनात्मक पात्रको भूमिकामा देखिएका छन्, जुन भूमिकामा उनले आफूलाई पूर्ण रूपमा ढालेका छन्। दर्शकहरूका अनुसार, पलको शारीरिक भाषा, संवाद डेलिभरी र भाव सम्प्रेषण निकै प्रभावशाली देखिएको छ।
विशेष शोमा सहभागी भएका धेरै दर्शक र समीक्षकहरूले फिल्म हेरेपछि पल शाहलाई ‘उनको करियरको उत्कृष्ट अभिनय’ भनेर सराहना गरेका छन्।
दर्शकको माया र समर्थनले पल शाह भावुक देखिए। काठमाडौंको बिग मुभिजमा आयोजित विशेष शोमा बोल्दै उनले भने:
“म अहिले बोल्न सकिरहेको छैन। एउटा कलाकारका लागि टिम बलियो हुनु आवश्यक हुन्छ। हामी सबैले मिहिनेत गरेका थियौं र दर्शकबाट यस्तो प्रतिक्रिया पाउँदा लागिरहेको छ — त्यो मिहिनेत खेर गएको छैन।”
निर्देशक ओम प्रतिकको लेखन तथा निर्देशनमा बनेको ‘मोहर’ देउकी प्रथाको पृष्ठभूमिमा आधारित छ। तर, फिल्मको बलियो पक्ष भनेको पल शाह, बेनिशा हमाल र नीति शाहबीचको त्रिकोणात्मक प्रेम कथा हो, जसले दर्शकलाई भावनात्मक रूपमा बाँधेर राख्न सफल भएको छ।
नीति शाह र बेनिशा हमालको अभिनयलाई पनि दर्शकले मन पराएका छन्। नीतिको अघिल्ला फिल्महरूमा अभिनयको आलोचना भए पनि ‘मोहर’मा उनको अभिनयमा परिपक्वता आएको देखिएको छ। बेनिशाले पनि फिल्ममा गहिरो प्रभाव छाडेकी छन्।
निर्माता चुम्बन जंग शाहीले फिल्मप्रति दर्शकको उत्साह देखेर उत्साहित भएको बताउँदै भने:
“हामीले जुन विषय लिएर काम गर्यौं, त्यसलाई दर्शकले कदर गरिदिनु भयो। यही नै हाम्रो सफलता हो।”
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण