चितवन: गुरुङ समुदायको संस्कृति र जीवनशैलीलाई समेटेको बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘रिमै’ को शीर्षगीत बुधबार चितवनको सिजी ल्याण्डमार्कस्थित क्यूएफएक्स सिनेमामा विशेष समारोहबीच सार्वजनिक गरिएको छ।
तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् सङ्घीय समितिका निवर्तमान अध्यक्ष कर्णबहादुर गुरूङको विशेष उपस्थितिमा शीर्षगीत विमोचन गरिएको कार्यक्रममा कलाकार, निर्माण टोली र स्थानीय दर्शकको उत्साहजनक सहभागिता थियो।
गीतमा नायिका रिश्मा गुरूङ, दयाहाङ राई, गौमाया गुरूङ, अर्पण थापा लगायतका कलाकारको अभिनय समावेश छ। आँशु लामा र रिता केसीको स्वरमा, दीपक शर्माको शब्द र सङ्गीतमा तयार गीतमा गुरुङ संस्कृतिको जीवन्त चित्रण गरिएको छ। हलको दर्शकको मागअनुसार गीत दुईपटक पर्दामा देखाइएको र त्यसैदिन युट्युब च्यानल ओएसआर डिजिटलमार्फत पनि सार्वजनिक गरिएको हो।
निर्देशक खिलबहादुर गुरूङले राजधानीमै सीमित रहने प्रचारको परिपाटी तोड्दै यसपटक मोफसलबाटै प्रचार अभियान सुरू गरिएको बताए। “चितवन नेपाली चलचित्रको प्रमुख बजार हो, त्यसैले यहाँबाटै प्रचार शुरू गरेका छौं,” उनले भने।
कार्यकारी निर्माता वीरबल घले (विरूप) ले चलचित्रको कथा, निर्देशन र प्रस्तुति बलियो भएकाले यो सबैले हेर्नैपर्ने चलचित्र भएको दाबी गरे। कवि तथा निर्देशक उपेन्द्र सुब्बाको कथामा आधारित ‘रिमै’ मा गौमाया गुरूङ, बुद्धि तामाङ, माओत्से गुरूङ, पुष्कर गुरूङ, कविता आलेमगर, वीरमाया गुरूङ लगायतका थुप्रै कलाकारको दमदार अभिनय देख्न सकिन्छ।
गोरखा सिराञ्चोक एण्ड लिगलिगकोट फिल्म्स प्रालिको ब्यानरमा, रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बनेको यो चलचित्र टीका गुरूङ, जीत ‘यात्री’ गुरूङ र दुनबहादुर घलेको मुख्य लगानीमा निर्माण भएको हो। सहनिर्मातामा राजेश घिमिरे, रोशन भट्टराई र विनु गुरूङ रहेका छन्।
कार्यक्रममा झारगाउँ चेली माइती समाजले निर्माण समूहलाई फेटा लगाएर सम्मान गरेको थियो। ‘रिमै’ भदौ २० गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने तय भएको छ।
https://www.facebook.com/share/p/1Bnmgy7LVQ/?mibextid=wwXIf
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण