गोरखा, कार्तिक २२ — राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति गोरखाको आठौं अधिवेशन र १६औं वार्षिक साधारणसभा आज एक विशेष समारोहबीच सम्पन्न भएको छ। कार्यक्रममा गोरखा जिल्लाका लोक तथा दोहोरी गायन क्षेत्रमा सक्रिय कलाकार, अग्रज, संस्थापक सदस्य तथा स्थानीय समाजसेवीहरूको उपस्थितिमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।
प्रतिष्ठानका केन्द्रीय सदस्य कुमार पुनको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय निर्वाचन मण्डलले कार्यसमिति चयन प्रक्रिया सम्पन्न गरेको थियो। निर्वाचन मण्डलका अन्य सदस्यहरूमा काजिवाबु अर्याल, विकास नेपाली, शिव केसी र सुमन पण्डित रहेका थिए। मण्डलले सबै उम्मेदवारहरूबीच सहमति कायम गर्दै एकमतले नयाँ नेतृत्व चयन गरेको हो।
निर्वाचित कार्यसमिति
नयाँ कार्यसमितिको अध्यक्षमा रिता थापा मगर निर्वाचित भएकी छन्। उपाध्यक्षहरूमा अम्बर बहादुर मगर (प्रथम), टिकामाया गुरुङ (महिला) र सन्तोष दवाडी (द्वितीय) रहेका छन्।
सचिव अमिस उपरकोटरी, सह–सचिव राज लामा, कोषाध्यक्ष राज गुरुङ, र सह–कोषाध्यक्ष विमला गुरुङ चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा रमेश परियार, पवित्रा वराम, खेमराज तिवारी, होमराज गुरुङ, रेश्मा तामाङ, प्रदीप विश्वकर्मा, लीला परियार, कमल कुमारी गुरुङ, संगीता सुनार, विमला सुनार, र रनमाया गुरुङ रहेका छन्।

रिता थापा मगरको योगदान र दृष्टिकोण
२०६०/६१ सालदेखि दोहोरी प्रतियोगिता तथा लोकगायन क्षेत्रमा सक्रिय रिता थापा मगर गोरखाको लोकसांगीतिक क्षेत्रमा एक अनुभवी र अग्रणी कलाकारको रूपमा परिचित छिन्। उनी नेपाली भाषामा स्नातकोत्तर (मास्टर डिग्री) प्राप्त गरेकी हुन् र लामो समयदेखि संस्थाको गतिविधिमा अग्रपंक्तिमा रहेकी छिन्।
रिता थापा मगरले आफ्नो निर्वाचनपछि प्रतिक्रिया दिँदै भनिन्, “गोरखामा लोक तथा दोहोरी संस्कृतिको संरक्षण र विस्तार मेरो मुख्य प्राथमिकता हुनेछ। यहाँका कलाकार, लेखक, र सिर्जनशील प्रतिभाहरूलाई संस्थागत रुपले जोड्दै राष्ट्रिय स्तरमा अवसर दिलाउने प्रयास गरिनेछ।”
उनीले सबै सदस्यलाई एकजुट भई संस्थाको गौरव बढाउन आह्वान गर्दै संस्थाको आगामी कार्यक्रमहरू अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता पनि जनाइन्।
समारोहमा शुभकामना र बधाइ
कार्यक्रममा विभिन्न अतिथि तथा स्थानीय सांस्कृतिक अगुवाहरूले नयाँ कार्यसमितिलाई शुभकामना र बधाइ दिएका थिए। वक्ताहरूले लोक तथा दोहोरी गीत नेपाली पहिचानसँग गहिरो सम्बन्ध भएको भन्दै यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न संस्थाको भूमिका महत्वपूर्ण हुने बताएका थिए।
केन्द्रीय अध्यक्ष रिता थापा मगरले पनि नवनिर्वाचित जिल्ला समिति गोरखालाई बधाइ दिंदै कार्यकाल सफल रहोस् भन्ने शुभकामना दिएकी छिन्। गोरखाको सांगीतिक वातावरणलाई सुदृढ बनाउन, स्थानीय कलाकारहरूलाई प्रोत्साहन गर्न र नेपाली लोकधरोहर जोगाउन नयाँ नेतृत्वले ठोस कदम चाल्ने अपेक्षा गरिएको छ।
-
सार्वजनिक बिदाका दिनसमेत खुला रहने बारपाक सुलिकोट गाउँपालिकाको कार्यालय
-
ऐतिहासिक लिगलिगे दौडको प्रारम्भिक स्थलमा सरसफाई तथा वृक्षारोपण सम्पन्न
-
मर्स्याङ्दी गाउँपालिकाद्वारा कक्षा १–८ का लागि ‘हाम्रो मर्स्याङ्दी’ स्थानीय पाठ्यपुस्तक सार्वजनिक
-
गोरखामा भ्याट र परिवर्तित करबारे अभिमुखीकरण, ९० व्यवसायी सहभागी
-
मनसुनजन्य विपद्को जोखिम बढेपछि मर्स्याङ्दी गाउँपालिकाद्वारा उच्च सतर्कता अपनाउन अपिल