logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड २०८२ सम्पन्न

तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड २०८२ सम्पन्न


  • आइतबार, पुष १२ २०८२
  • 9.4K
    SHARES

    काठमाडौँ– तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड २०८२ काठमाडौँको चावहिलस्थित चलचित्र विकास बोर्डको हलमा सम्पन्न भएको छ। चलचित्र र गीत–संगीतका ३२ विधामा अवार्ड तथा सम्मान प्रदान गर्दै कार्यक्रम सम्पन्न गरिएको हो।

    चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले उद्घाटन गरेको समारोहमा लिम्बु, तामाङ र गुरुङ समुदायका कलाकारहरूले आफ्नो मौलिक लोकगीत, संगीत तथा नृत्य प्रस्तुत गरेका थिए।

    समारोहमा अभिनेता धिरेन शाक्य, अग्रज द्वन्द्व निर्देशक राजेन्द्र खड्गी र अग्रज लोकगायक कृष्ण गुरुङलाई विशेष सम्मान प्रदान गरियो। साथै अभिनेता देवेन्द्र नेम्वाङ, सञ्चारकर्मी अनिल गुरुङ, संगीतकार विशाल योञ्जन, कलाकार तथा व्यवसायी टासी गुरुङ र ह्याङला ह्रिमठिम तामाङ डम्फु संघ नेपाललाई पनि सम्मानित गरिएको थियो।

    अवार्डका निर्णायकमा चलचित्र निर्देशक दिनेश लिङदेन, संगीत संयोजक डिका गुरुङ, संगीतकार आरम्भ तामाङ र राज लिम्बु शुक्र रहेका थिए।

    स्वागत मन्तव्यमा अवार्ड संयोजक शनि लिम्बुले आदिवासी गीत–संगीत र चलचित्रलाई जोड्ने उद्देश्यले अवार्ड आयोजना गर्दै आएको बताए। कार्यक्रमका अध्यक्ष उमेश गुरुङले आदिवासी जनजाति समुदाय राज्यबाट उपेक्षित भइरहेको अवस्थामा यस्ता अवार्ड र सम्मानले कलाकारलाई प्रोत्साहन गर्ने उल्लेख गरे।

    आदिवासी चलचित्रतर्फ उत्कृष्ट चलचित्रको अवार्ड लिम्बु चलचित्र ‘नाम ओती’ ले प्राप्त गर्‍यो भने उत्कृष्ट निर्देशकको अवार्ड ‘टुहुरी’ बाट जनक गुरुङले पाए। उत्कृष्ट अभिनेता पूर्णबहादुर लिम्बु (नाम ओती) र उत्कृष्ट अभिनेत्री रुपा एस. घले (श्होङ) घोषित भए। चरित्र अभिनेताको अवार्ड कुमार साम्री घले (टुहुरी), चरित्र अभिनेत्रीको अवार्ड कमला राई (करु) (टुहुरी) र जुरी चरित्र अभिनेताको अवार्ड अच्युत गुरुङ ले प्राप्त गरे। लिम्बु चलचित्रतर्फ चरित्र अभिनेता तीर्थराज लिम्बु (चे) र चरित्र अभिनेत्री ज्योति लिम्बु (नाम ओती) भए।

    तामाङ सेलो उत्कृष्ट गायकको अवार्ड देवलाल मोक्तान, गायिकाको अवार्ड ओङमु शेर्पा ले प्राप्त गरे। म्हेन्दोमाया उत्कृष्ट गायक सुमन घले र गायिका सिता लामा घोषित भए। मौलिक/गुरुङ गीत उत्कृष्ट गायिकाको अवार्ड पवित्र गुरुङ, जुरी अवार्ड दुर्गा गुरुङ र पब्लिक च्वाइस अवार्ड अनिता गुरुङ ले पाए। लिम्बु गीत उत्कृष्ट गायक शम्भु फोम्बा र गायिका हेमुस्मृती चोङ्बाङ घोषित भए। मौलिक गीत गायनतर्फ उत्कृष्ट गायक आरके गुरुङ र उत्कृष्ट गायिका शिला राई ले अवार्ड प्राप्त गरे।

    आदिवासी गीत गायकको अवार्ड मिस्टर एलोन सोनाम गुरुङ, गायिकाको अवार्ड जुनी खालिङ राई लाई प्रदान गरियो। आदिवासी म्युजिक भिडियो निर्देशकको अवार्ड रमेश थापामगर, नृत्य निर्देशकको अवार्ड तेन्याङ (सरु) गुरुङ राना ले प्राप्त गरे। वर्षको सर्वोत्कृष्ट आदिवासी गीतको अवार्ड ‘हङकङको चिनो’ ले जित्दा ‘तमु समाज युके’ ले पब्लिक च्वाइस अवार्ड प्राप्त गर्‍यो।

    क्वालिटी फिल्म्स प्रा.लि.को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page