logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

बल्छी धुर्बेको ठूलो पर्दा डेब्यू, ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक

बल्छी धुर्बेको ठूलो पर्दा डेब्यू, ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक


  • शुक्रबार, पुष १७ २०८२
  • 7.3K
    SHARES

    लोकप्रिय कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को निर्देशन तथा अभिनय रहेको फिल्म गोबर गणेशको मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा ३ मिनेट १९ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो।

    ट्रेलरले गाउँबाट सहरसम्मको संघर्ष, सपना र यथार्थबीचको द्वन्द्वलाई सशक्त रूपमा चित्रण गर्छ। गाउँमा सरल र हाँसीखेली जीवन बिताइरहेको एक युवाले ठूलो सपना बोकेर काठमाडौं आएपछि भोग्नुपर्ने कठोर यथार्थ, अपमान र संघर्ष ट्रेलरमा देखाइएको छ। पैसा कमाउने दौडमा सहरले उसलाई अनेक चुनौतीसँग जुध्न बाध्य बनाउँछ।

    ट्रेलरको केन्द्रमा गणेश पात्र छन्, जसको भूमिका स्वयं मरिचमान श्रेष्ठले निभाएका छन्। समाजले हेप्ने, सानो काम गर्ने व्यक्ति भनेर चिनिने गणेशको संघर्षमार्फत फिल्मले श्रमिक वर्गको पीडा, आत्मसम्मान र मानवीय गरिमाको प्रश्न उठाएको छ। फिल्मको शीर्षकमा प्रयोग गरिएको ‘गोबर’ शब्दले वर्ग र पेशाका आधारमा गरिने विभेदलाई प्रतीकात्मक रूपमा उजागर गर्छ।

    यसै फिल्मबाट मरिचमान श्रेष्ठले कथानक फिल्म निर्देशन र अभिनयमा डेब्यू गरेका हुन्। टेलिभिजन सिरियल बल्छी धुर्बे मार्फत सामाजिक यथार्थलाई सरल तर प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएका मरिचमानको यो फिल्मी यात्रा उनको करिअरको नयाँ अध्यायका रूपमा हेरिएको छ।

    फिल्ममा मरिचमानसँगै वर्षा शिवाकोटी, पदम तामाङ, पूजन घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, माओत्से गुरुङ, विशाल पहाडी, रमेश बुढाथोकी, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, बिनोद न्यौपाने र सन्तोष बानियाँलगायत कलाकारहरूको अभिनय रहेको छ।

    ‘बल्छी धुर्बे फिल्म्स’को ब्यानरमा निर्माण भएको फिल्मको कथा मरिचमान स्वयंको हो। छायांकन शिवराम श्रेष्ठले गरेका छन् भने सम्पादन विपिन मल्लको रहेको छ।

    हास्य र मनोरञ्जनको आवरणभित्र सामाजिक यथार्थ प्रस्तुत गर्ने संकेत दिएको गोबर गणेश आगामी माघ १ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। टेलिभिजनमा सफल कथा सुनाएका बल्छी धुर्बेले ठूलो पर्दामा कस्तो प्रभाव छोड्लान् भन्ने प्रतीक्षा दर्शकमा बढ्दो छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page