logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

लोक दोहोरी क्षेत्रमा जम्दै हरिचन्द्र भट्ट क्षेत्री

लोक दोहोरी क्षेत्रमा जम्दै हरिचन्द्र भट्ट क्षेत्री


  • बुधबार, पुष २२ २०८२
  • 16.2K
    SHARES

    पछिल्लो समय नेपाली सांगीतिक बजारमा गायक तथा सर्जक हरिचन्द्र भट्ट क्षेत्रीको चर्चा उल्लेखनीय रूपमा चुलिँदै गएको छ। लोक दोहोरी विधामा निरन्तर सक्रिय रहँदै आएका भट्टले आफ्नो गायन, सिर्जना र अभिनयमार्फत अलग पहिचान बनाउन सफल भएका छन्।

    गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–६, ताकुकोटमा आमा जनुका भट्ट र बुवा एकबहादुर भट्टको कोखबाट जन्मिएका हरिचन्द्र भट्ट क्षेत्री सानैदेखि लोकसंगीतप्रति आकर्षित थिए। विद्यालय तहदेखि नै विभिन्न सांगीतिक प्रतियोगितामा सहभागी भई प्रथम स्थान हासिल गर्दै आएका भट्ट जिल्लास्तरीय दोहोरी प्रतियोगितामा समेत गायनतर्फ सहभागी भई प्रथम तथा द्वितीय स्थान प्राप्त गर्न सफल भएका थिए।

    भट्टले हालसम्म झण्डै दर्जनौँ गीतमा अभिनय गर्नुका साथै थुप्रै चर्चित टेलिसिरियलहरूमा पनि अभिनय गरिसकेका छन्। पछिल्लो समय उनले नेपालका चर्चित गायिकाहरूसँग विभिन्न लाइभ दोहोरी कार्यक्रममार्फत दर्शकको मन जित्दै आएका छन्। केही समयअघि गायिका रेजिना परियारसँग गाएको दोहोरी गीत सांगीतिक बजारमा निकै चर्चित बनेको छ। उनले ‘सत्यको जित’ हास्य टेलिसिरियल, ‘नजाऊ विदेश’, ‘आफू त परियो गाउँले’ लगायतका दोहोरी गीतहरूमा अभिनय गरेका छन्।

    सांगीतिक यात्राका क्रममा भट्टले राष्ट्रिय स्तरका थुप्रै अवार्ड तथा सम्मानहरू प्राप्त गरेका छन्। गोरखामा आयोजना गरिएको ताकुकोट न्वागी मेला २०८२ बाट सम्मानित भएका भट्ट आठौँ नेसनल क्यापिटल अवार्ड २०७८, नेपाल बिगेस्ट अवार्ड (एनइए) २०८०, गोरखा सांस्कृतिक समाजको सम्मान तथा सगरमाथा अवार्डबाट उत्कृष्ट गायकको अवार्ड प्राप्त गर्न सफल भएका छन्।

    गीत सिर्जना, गायन र अभिनय तीनै क्षेत्रमा समान दक्षता देखाएका भट्टले विभिन्न रियालिटी शो तथा दोहोरी प्रतियोगितामा निर्णायकको भूमिकासमेत निर्वाह गरिसकेका छन्। देशका विभिन्न मेला–महोत्सवमा सहभागी भई गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्दै आएका भट्ट विगत तीन दशकदेखि निरन्तर रूपमा संगीत क्षेत्रमा क्रियाशील छन्।

    लोकदोहोरी क्षेत्रको संरक्षण र प्रवर्द्धनमा निरन्तर लागिरहेका हरिचन्द्र भट्ट क्षेत्रीको सांगीतिक यात्रा नेपाली लोकसंगीतप्रेमीका लागि प्रेरणाको स्रोत बन्दै गएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page