logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

मानुङकोटको प्रेमकथामा आधारित बद्री सापकोटा र अमृत अधिकारीको ‘मानुङकोटैमा’ सार्वजनिक

मानुङकोटको प्रेमकथामा आधारित बद्री सापकोटा र अमृत अधिकारीको ‘मानुङकोटैमा’ सार्वजनिक


  • आइतबार, पुष २६ २०८२
  • 16.2K
    SHARES

    तनहुँको चर्चित पर्यटकीय गन्तव्य मानुङकोटको सौन्दर्य र प्रेमकथालाई समेटेर तयार गरिएको नयाँ दोहोरी गीत कोसेली ‘मानुङकोटैमा’ बद्री सापकोटा अफिसियल युट्युब च्यानलमार्फत हिजो सार्वजनिक गरिएको छ। सार्वजनिक भएको छोटो समयमै गीतले दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

    गीतमा पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेको मानुङकोट घुम्न पुगेका एक युवक र त्यही क्षेत्रकी युवतीबीच बसेको माया–प्रेमको कथावस्तु समेटिएको छ।

    गीतमा गायक बद्री सापकोटा र चर्चित गायिका शान्ति श्री परियारको सशक्त स्वर रहेको छ। गीतको लय तथा शब्द रचना स्वयं बद्री सापकोटाले गरेका हुन् भने मदन केसीको संगीत संयोजन रहेको छ। गीतको रेकर्डिङ प्रिज्मा रेकर्डिङ स्टुडियोमा गरिएको हो। जेरी भण्डारीको कथा, निर्देशन तथा कोरियोग्राफीमा तयार गरिएको म्युजिक भिडियोमा गायक बद्री सापकोटा स्वयं र चर्चित दोहोरी नायिका जुना गुरुङको अभिनय देख्न सकिन्छ। भिडियोमा बद्रीलाई मानुङकोट घुम्न आएका पाहुना र जुनालाई स्थानीय युवतीको भूमिकामा प्रस्तुत गरिएको छ।

    दीपक घिमिरे र उनको टिमले छायाङ्कन गरेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्। भिडियोमा तनहुँ जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रसँगै मानुङकोटका ऐतिहासिक, रमणीय तथा लोभलाग्दा दृश्यहरूलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ। यसअघि गायिका शान्ति श्री परियारसँग सहकार्य गरेको बद्री सापकोटाको ‘युके बस्ने माया’ गीत दर्शकहरूबीच अत्यन्त लोकप्रिय बनेको थियो।

    गोरखामा जन्मिएका सापकोटालाई ‘बस बस पियारी’ गीतले गायन क्षेत्रमा चिनाएको हो। उनका युके बस्ने माया, बस बस पियारी, नगर मायाले मुख छुचो, स्यामु नानीलाई, इन्द्र महाराज, जाम क्या हो पोइला जाम क्या हो, ए गौरीलगायत दर्जनौँ गीतहरू सांगीतिक बजारमा हिट छन्। गायन, सिर्जना र अभिनयसँगै ठाडो भाका तथा लाइभ दोहोरी गायनमा समेत बद्री सापकोटा उत्तिकै पोख्त मानिन्छन्।

    ‘मानुङकोटैमा’ गीतको म्युजिक भिडियोले मानुङकोटको पर्यटकीय प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। मानुङकोटको प्रचारप्रसारमा गीतले उल्लेखनीय योगदान पुर्याउने भन्दै स्थानीयवासी तथा दर्शकहरूले चौतर्फी प्रशंसा गरिरहेका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page