काठमाडौं । पछिल्लो एक दशकसम्म डिजिटल प्लेटफर्ममा राम्रो व्यापार गरेको लाइभ दोहोरीको बजार अहिले उल्लेख्य रूपमा घट्दै गएको छ। एक समय युट्युबमा एकै दिन लाखौं भ्युज पाउन सक्ने दोहोरी सामग्री अहिले भने एक महिनामा पनि अपेक्षित दर्शक संख्या जुटाउन संघर्षरत देखिन्छ।
यसै सन्दर्भमा प्रत्यक्ष दोहोरी क्षेत्रका हस्ती तथा राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता विजेता रविन लामिछानेले लाइभ दोहोरीको बजार खस्किनुका १३ प्रमुख कारणहरू औंल्याएका छन्। हाल जर्मनीमा बसोबास गर्दै आएका उनी समय–समयमा नेपाल आएर सांगीतिक गतिविधिमा सक्रिय रहने गरेका छन्।
लामिछानेका अनुसार फेसबुक रिल्स र टिकटकजस्ता छोटा भिडियो प्लेटफर्मको तीव्र विस्तारले युट्युबमा दर्शकको एन्गेजमेन्ट घटाएको छ। त्यस्तै, दोहोरी प्रस्तुतिमा बढ्दो छाडापन र असभ्य हर्कतले पनि दर्शकको रुचि कम हुँदै गएको उनले बताएका छन्।
उनले सिकेर गाउने प्रवृत्ति बढ्दै जाँदा अर्गानिक दोहोरीको मौलिक स्वाद हराउँदै गएको, वास्तविक कलाकारहरूभन्दा भाइरल व्यक्तिहरूलाई प्राथमिकता दिइनुले गुणस्तरमा असर परेको पनि उल्लेख गरेका छन्। साथै, आवश्यकताभन्दा बढी स्टुडियो र युट्युब च्यानल खुल्नु तथा अत्यधिक मात्रामा सामग्री उत्पादन हुनुका कारण बजारमा भीड बढेको उनको भनाइ छ।
लामिछानेले दोहोरी प्रतियोगिताहरू हराउँदै जानु, व्यावसायिक कलाकारहरूले पेशागत रूपमा मात्र दोहोरीलाई लिनु र प्रस्तुति स्तरमा गिरावट आउनु, साथै एउटै शैली र फर्म्याट दोहोरिँदा दर्शकले नयाँपन नपाउनु पनि प्रमुख समस्या रहेको बताएका छन्।
त्यसैगरी, बजारमा प्रचलित धेरै भाकाहरूमा कपीराइट समस्या हुनु, नयाँ प्रतिभाहरूको उत्पादनमा कमी आउनु, तथा आधुनिक प्रविधिको अत्यधिक प्रयोगले लाइभ दोहोरीको प्राकृतिकपन हराउनु पनि बजार खस्किनुका कारण रहेको उनले विश्लेषण गरेका छन्।
उनका अनुसार एकै दिनमा एउटै स्टुडियोमा धेरै एपिसोड सुटिङ गर्दा गुणस्तरमा असर पर्ने गरेको छ भने अनुभवी तथा इमान्दार कलाकारहरू विदेशिनु पनि अर्को चुनौती बनेको छ।
लामिछानेले यी समस्याहरूलाई समयमै समाधान गर्न सकिएमा लाइभ दोहोरीको पुरानो आकर्षण र बजार पुनः फर्काउन सकिने विश्वास व्यक्त गरेका छन्।
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
ककनी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बिदा भए, तीन वर्षे कार्यकालको योगदानको प्रशंसा
-
जन्मदिनमा फजुल खर्च कटाएर मानव सेवा आश्रमका वृद्धवृद्धालाई भोजन गराइन् गायिका मधु रसाइलीले
-
गोरखाली गायक पारस राज अधिकारीको नयाँ तीज गीत ‘मुस्काउँदा मुसुक्क’ सार्वजनिक
-
विद्यार्थीमा डिजिटल सीप विकास गर्न लुईटेलमा आईसीटी तथा एआई बुटक्याम्प सुरु