logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

दोहोरीमा बढ्दो अश्लीलता रोक्न कडा कदम चाल्न सरकारसँग माग, मन्त्रालय पुगिन् रिता थापा

दोहोरीमा बढ्दो अश्लीलता रोक्न कडा कदम चाल्न सरकारसँग माग, मन्त्रालय पुगिन् रिता थापा


  • बिहिबार, जेष्ठ ७ २०८३
  • 5.6K
    SHARES

    काठमाडौं । नेपाली लोक तथा दोहोरी संगीत क्षेत्रमा बढ्दो अश्लीलता, विकृति तथा कलाकारमाथि भइरहेको अन्याय नियन्त्रण गर्न माग गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सरकारलाई विस्तृत प्रतिवेदन बुझाएको छ।

    प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेल समक्ष “नेपाली लोक तथा दोहोरी संगीत क्षेत्रको एकीकृत प्रतिवेदन–२०८३” हस्तान्तरण गरेकी हुन्। कार्यक्रममा प्रतिष्ठानका महासचिव शिव हमाल तथा लोक स्वर सम्राट राजु परियार समेत सहभागी थिए।

    प्रतिवेदनमा नेपाली लोक तथा दोहोरी संगीत क्षेत्र केवल सांस्कृतिक पहिचानमा सीमित नरही अर्बौं रुपैयाँ बराबरको आर्थिक क्षेत्रका रूपमा विस्तार हुँदै गएको उल्लेख गरिएको छ। देशभर सञ्चालनमा रहेका दोहोरी साँझ, मेला–महोत्सव, डिजिटल प्लेटफर्म तथा वैदेशिक कार्यक्रममार्फत वार्षिक अर्बौं रुपैयाँको कारोबार भइरहेको दाबी गरिएको छ।

    प्रतिवेदनअनुसार लोक तथा दोहोरी क्षेत्रबाट हजारौं कलाकार, प्राविधिक, वाद्यवादक, सञ्चालक तथा श्रमिक प्रत्यक्ष रूपमा आबद्ध छन् भने लाखौं परिवारको जीविकोपार्जन यसै क्षेत्रमा निर्भर रहेको जनाइएको छ।

    पछिल्लो समय युट्युब, टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल हुने प्रतिस्पर्धाका कारण लोक गीतको मौलिकता हराउँदै गएको, दोहोरो अर्थ लाग्ने शब्दको प्रयोग बढेको तथा स्टेज प्रस्तुति अशोभनीय बन्दै गएको भन्दै प्रतिष्ठानले गम्भीर चिन्ता व्यक्त गरेको छ। अश्लीलता फैलाउने सामग्री र प्रस्तुति नियन्त्रणका लागि स्पष्ट नीति तथा कडा कारबाहीको माग समेत गरिएको छ।

    प्रतिवेदनमा कलाकारमाथि हुने श्रम शोषण, न्यून पारिश्रमिक, सामाजिक सुरक्षा अभाव तथा स्वास्थ्य सुरक्षाका समस्या पनि औंल्याइएको छ। लोक कलाकारलाई “सांस्कृतिक श्रमिक” का रूपमा कानुनी मान्यता दिनुपर्ने, स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष तथा विशेष स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने सुझाव प्रतिवेदनमा समावेश गरिएको छ।

    यसैगरी दोहोरी साँझलाई केवल मनोरञ्जन केन्द्र नभई सांस्कृतिक केन्द्रका रूपमा विकास गर्नुपर्ने, महिला तथा पुरुष कलाकारको सुरक्षाका लागि स्पष्ट कार्यविधि बनाउनुपर्ने र कार्यस्थलमा हुने हिंसाविरुद्ध ‘जिरो टोलरेन्स’ नीति लागू गर्नुपर्ने माग गरिएको छ।

    प्रतिवेदनले नेपाली लोक संगीतलाई नेपालको ‘सफ्ट पावर’ का रूपमा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सकिने उल्लेख गर्दै संगीत पर्यटन, होमस्टे प्रवर्द्धन, मौलिक बाजा संरक्षण तथा अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदानमार्फत नेपालको पहिचान विश्वभर फैलाउन सकिने विश्वास व्यक्त गरेको छ।

    प्रतिष्ठानले सरकारसँग “नेपाली लोक संगीत संरक्षण तथा कलाकार सामाजिक सुरक्षा विधेयक–२०८३” ल्याउन माग गर्दै लोक तथा दोहोरी संगीत क्षेत्रलाई सांस्कृतिक उद्योगका रूपमा मान्यता दिन आवश्यक नीति तथा कानुन निर्माण गर्न आग्रह गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page