गोरखा: गिरी राज भट्ट नेपालको पाककला, आतिथ्य व्यवसाय र स्वस्थ जीवनशैली प्रवर्द्धनको क्षेत्रमा परिचित तथा लोकप्रिय नाम हो। गोरखा जिल्लाको सामान्य ग्रामीण परिवेशबाट आफ्नो जीवनयात्रा सुरु गर्नुभएका उहाँ आज सफल एक्जिक्युटिभ सेफ, उद्यमी, प्रशिक्षक र समाजसेवीका रूपमा स्थापित हुनुभएको छ।
गोरखा नगरपालिका–१, छाप्थोकमा जन्मिनुभएका सेफ भट्टले बाल्यकालदेखि नै मेहनत, अनुशासन र ठूलो सपना बोकेर अघि बढ्नुभयो। आर्थिक अभाव र संघर्षबीच उच्च शिक्षा तथा अवसरको खोजीमा काठमाडौं आउनुभएका उहाँले जीवनका कठिन दिनहरूलाई चुनौतीका रूपमा स्वीकार गर्नुभयो। बिहान पत्रिका वितरण, दिउँसो अध्ययन र बेलुका ठमेलस्थित चर्चित रेस्टुरेन्टमा काम गर्दै उहाँले संघर्षको आधारशिला निर्माण गर्नुभयो।
पाककलाप्रतिको लगाव र निरन्तर मेहनतकै कारण उहाँले व्यावसायिक कुकिङ तालिम तथा डिप्लोमा कोर्सहरू पूरा गरी आतिथ्य सेवा, किचेन व्यवस्थापन र नेतृत्वमा विशेष दक्षता हासिल गर्नुभयो। सन् २००७ मा बहराइन पुगेर विभिन्न अन्तर्राष्ट्रिय रेस्टुरेन्टमा काम गर्दै उहाँले विश्वस्तरीय अनुभव बटुल्नुभयो। सामान्य कुकबाट सुरु भएको उहाँको यात्रा व्यवस्थापन तहसम्म पुग्दै चारवटा रेस्टुरेन्टको सञ्चालन जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त भयो।
नेपाल फर्किएपछि उहाँले चर्चित १९०५ रेस्टुरेन्टमा एक्जिक्युटिभ सेफका रूपमा योगदान दिनुभयो। त्यसपछि चीनमा स्वस्थकर तथा अर्गानिक भोजनसम्बन्धी अध्ययन गर्दै “फार्म टु फोर्क” अवधारणामा आधारित आधुनिक खाद्य प्रणालीबारे महत्वपूर्ण अनुभव हासिल गर्नुभयो। सन् २०१७ मा “आतिथ्य क्षेत्रका सहकर्मी तथा साथीहरूसँग मिलेर स्थापना गर्नुभएको बालुवाटार र ठमेलमा रहेको Avocado Cafe आज स्वस्थ भोजन, अर्गानिक परिकार र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने नेपालको अग्रणी ब्रान्डमध्ये एक बनेको छ।
स्थानीय किसानसँग सहकार्य गर्दै कोदो, फापर, जौ, किन्वा, मार्सी चामल, मोरिङ्गा लगायत पोषणयुक्त नेपाली उत्पादनलाई आधुनिक परिकारमार्फत विश्वसामु परिचित गराउने अभियानमा उहाँ सक्रिय रहनुभएको छ। व्यावसायिक सफलतासँगै उहाँ सामाजिक तथा पेशागत क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ। नेपाली सेफ सोसाइटी का संस्थापक तथा कार्यवाहक महासचिवका रूपमा उहाँले नेपाली शेफ समुदायको क्षमता विकास, सीप प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय पहिचान विस्तारका लागि निरन्तर योगदान दिँदै आउनुभएको छ।
हाल काठमाडौंमा परिवारसहित बसोबास गरिरहनुभएका सेफ गिरी राज भट्टको लक्ष्य नेपाली खानालाई विश्वस्तरमा स्थापित गर्नु, स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउनु तथा नयाँ पुस्ताका शेफहरूलाई प्रेरणा र मार्गदर्शन प्रदान गर्नु रहेको छ। उहाँको जीवन केवल सफलताको कथा मात्र होइन, यो संघर्ष, आत्मविश्वास, लगनशीलता र समर्पणको प्रेरणादायी उदाहरण हो। सेफ गिरी राज भट्ट आज हजारौं युवाका लागि आशा, प्रेरणा र सफलताको प्रतीक बन्न सफल हुनुभएको छ।
-
सार्वजनिक बिदाका दिनसमेत खुला रहने बारपाक सुलिकोट गाउँपालिकाको कार्यालय
-
ऐतिहासिक लिगलिगे दौडको प्रारम्भिक स्थलमा सरसफाई तथा वृक्षारोपण सम्पन्न
-
मर्स्याङ्दी गाउँपालिकाद्वारा कक्षा १–८ का लागि ‘हाम्रो मर्स्याङ्दी’ स्थानीय पाठ्यपुस्तक सार्वजनिक
-
गोरखामा भ्याट र परिवर्तित करबारे अभिमुखीकरण, ९० व्यवसायी सहभागी
-
मनसुनजन्य विपद्को जोखिम बढेपछि मर्स्याङ्दी गाउँपालिकाद्वारा उच्च सतर्कता अपनाउन अपिल