गोरखाका गायक सन्तोष परियारको नयाँ लोकदोहोरी गीत “माया एउटा वरदान हो” सार्वजनिक भएको छ। शान्ति श्री परियारसँगको स्वरमा सजिएको उक्त गीत हाल दर्शक–श्रोतामाझ चर्चामा रहेको छ।
गीतमा बुद्धि परियारको शब्द तथा लय रहेको छ भने पवन परियारले संगीत संयोजन गरेका छन्। मालासुर रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको प्राविधिक पक्षमा सागर बाजुराली र डम्बर विश्वकर्माले रेकर्डिस्टको भूमिका निभाएका छन्। मिक्सिङ तथा मास्टरिङ खड्क बाजुरालीले गरेका हुन्।
गीतको म्युजिक भिडियो सन्तोष परियार अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियोमा गायक सन्तोष परियार स्वयं र मोडल जुना गुरुङको अभिनय देख्न सकिन्छ। गोर्खाकी चर्चित लोकदोहोरी मोडलका रूपमा परिचित जुना गुरुङको प्रस्तुति भिडियोमा विशेष आकर्षण बनेको छ।
पवन परियारको कथा तथा निर्देशनमा तयार भएको भिडियोमा अन्य कलाकारहरूको समेत अभिनय रहेको छ। बाल कलाकार कृतिका बराइलीले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन्। भिडियोको छायांकन महेश महराले गरेका हुन् भने सम्पादन अनिल बिष्ट (प्युठानी) ले गरेका छन्।
गायक सन्तोष परियार गोरखा जिल्ला सिरान्चोक गाउँपालिका–३, हर्मीभञ्ज्याङमा जन्मिएका हुन्। सानै उमेरदेखि संगीतप्रति रुचि राख्दै आएका उनले आफ्नो पहिलो औपचारिक गीतमार्फत सांगीतिक यात्रा सुरु गरेका हुन्। उनले चर्चित गायिका शान्ति श्री परियारसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै दर्शक–श्रोताबाट सुझाव र प्रतिक्रियाको अपेक्षा गरेका छन्।
गीतले प्रेमलाई जात, धर्म र वर्गभन्दा माथि रहेको सन्देश दिने प्रयास गरेको छ। “माया एउटा फूल हो, वरदान हो” भन्ने भाव बोकेको गीतले समाजमा अझै विद्यमान जातीय विभेद र छुवाछुतप्रति प्रश्न उठाउँदै सबै मानिस समान हुन् भन्ने सन्देश प्रस्तुत गरेको छ।
म्युजिक भिडियोमा उच्च र निम्न जातबीचको प्रेमकथामार्फत सामाजिक अन्धविश्वास र परम्परागत सोचलाई चुनौती दिइएको छ। भिडियोले जातीय विभेद हटाउनुपर्ने र समाजमा समानताको भावना बलियो बनाउनुपर्ने सन्देश प्रभावकारी रूपमा प्रस्तुत गरेको छ। दर्शकहरूले भिडियोलाई सन्देशमूलक र समसामयिक भन्दै प्रशंसा गरिरहेका छन्।
सामाजिक सन्देशसहितको यो गीत हाल दर्शक–श्रोतामाझ चर्चा बटुल्दै गएको छ।
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण
-
रास्वपाको गोरखाका सबै पालिकामा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशन जेठ २४ मा